काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कुनै देशले आफ्नो भू–भाग चाहियो भन्नु कुनै राष्ट्रसँग सम्बन्ध बिगार्नु नभएको स्पष्ट पारेका छन्। उनले लिपुलेक, लिम्पियाधुरा र कालापानी सुगौली सन्धिपछि नेपालले भोगचलन गर्दै आएको भू–भाग भएको बताए। उनले भने, ‘हामीले हाम्रो भूमि फिर्ता माग्नु कुन चाहिँ अनौठो कुरा हो ? यहाँ साथीहरू आठौं आश्चर्य जत्तिकै ठान्नुहुन्छ।’
मंगलबार पूर्वराजदूतहरूको समूहले काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले छिमेक सम्बन्धलाई सुदृढ बनाउनकै लागि आफूले भौगोलिक अखण्डताको सवालमा प्रधानमन्त्री हुँदा भारतसँग उच्चस्तरीय वार्ता गरेको बताए। ओलीले भने, ‘राजनीतिक उत्तारचढाव नभएको भए अहिलेसम्म लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूगोल हुन्थ्यो भन्ने मलाई लाग्छ।’
परराष्ट्र नीतिमा देखिएको कमिकमजोरीका विषयमा पूर्वराजदूतहरूले राखेको उक्त छलफल कार्यक्रममा पूर्वप्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायत पूर्वराजदूतहरूको पनि सहभागिता थियो। यो समाचार अन्नपुर्ण पोस्ट दैनिकमा प्रकाशित छ।
कार्यक्रममा पूर्वमन्त्री ज्ञवालीले एमसीसी र एसपीपी विल्कुल फरक विषय भएता पनि एमसीसी गिजोलेको जस्तै एसपीपी पनि गिजोल्ने काम भएको बताए। उनले भने, ‘यतिबेला राजनीति च्यालेन्ज छ। हरेक विषयलाई राजनीतिक दृष्टिकोणले नै मूल्यांकन गरिन्छ। कूटनीतिदेखि हरेक क्षेत्रमा सामान्य विषयलाई पनि तोडमोड गरेर उछाल्ने काम गरिन्छ। जेजस्ता जतिवटा समूह भए पनि हामी हाम्रो परराष्ट्र नीतिमा प्रतिबद्घ हुनु जरूरी छ।’
पूर्वपरराष्ट्रमन्त्री तथा राजदूतसमेत रहेका डा. भेषबहादुर थापाले भने, ‘पछिल्लो समय कमजोर परराष्ट्र नीतिका कारण छिमेकी देशसँगको सम्बन्धमा समेत चिसोपना आयो। देशका प्रमुख कूटनीतिक मद्दामा पनि एक–अर्कालाई दोषारोपण गर्ने काम भयो। यस विषयमा पूर्वप्रधानमन्त्रीसँग छलफल गरेका हौं।’
अर्का पूर्वराजदूत डा. विश्वम्भर प्याकुरेलले भने कुटनीतिमा पनि आर्थिक कूटनीतिक विषय अहिलेको समयमा महत्त्वपूर्ण भएको बताए। कार्यक्रममा अध्यक्ष ओलीले राष्ट्रिय हितको पक्षमा एक जुट रहँदै आएको कुरा उल्लेख गर्दै आफूले उच्चस्तरीय वार्ताको क्रममा राष्ट्रिय हितको विषयमा नेपाली एक जुट छौं भन्ने राखेको बताए।
ओलीले भने, ‘हाम्रो छिमेक सम्बन्ध सधैं सुमधुर र सुदृढ राख्नुपर्छ। पारस्पारिक सम्मान, पारस्पारिक लाभको आधारमा छिमेकीसँग हेपिएको महसुस भइराखेको छ भने सम्बन्धमा दरार छ भन्ने बुझिन्छ। मित्रतामा चिसोपन आयो भने मित्रता कसरी रहन्छ ? हामी एक आपसमा बोल्न नसक्ने, भन्न नसक्ने अवस्थामा छौं। एउटाले दपेटिँदैमा हामी दपेटिन्छौं भने प्रष्ट थाहा हुन्छ हामी कस्तो मित्रतामा छौं ?’