डर्टमन्ड पराजित भएपनि हालान्डको लय उस्तै, निरन्तर गोल !

एजेन्सी – नर्वेली युवा फरवार्ड एर्लिङ ब्राउट हालान्डले आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिएपनि बोरुसिया डर्टमन्डले डिएफबी पोकलको प्रि–क्वाटरफाइनलमा पराजित भएको छ । डर्टमन्ड घरेलु टोली वेर्डर ब्रेमेनसँग ३–२ ले पराजित भएको हो ।

ब्रेमेनका डाभी सेल्की, लियोनार्दाे बिट्टेनकोर्ट र मिलोन रासिकाले गोल गरे । डर्टमन्डका एर्लिङ ब्राउट हालान्ड र जियोभानी रेनाले गोल गरेपनि हार टार्न सकेन । खेलको १६औं मिनेटमा डाभी सेल्कीको गोलबाट ब्रेमेन खेलमा अघि बढेको थियो । ३०औं मिनेटमा लियोनार्दाे बिट्टेनकोर्टले गोल गर्दै अग्रता दोब्बर पारे ।

६७औं मिनेटमा एर्लिङ ब्राउट हालान्डले गोल गर्दै डर्टमन्डलाई खेलमा २–१ को अवस्थामा ल्याएका थिए । हालान्ड ४६औं मिनेटमा थोर्गन हाजार्डको स्थानमा मैदानमा प्रवेश गरेका थिए । यसै विन्टरमा रेडबुल साल्जवर्गबाट डर्टमन्ड पुगेका हालान्डले ३ खेलमा ७ गोल गरिसकेका छन् ।

७०औं मिनेटमा युया ओसाकोको पासमा मिलोटले गोल गरेपछि घरेलु टोली ब्रेमेनले खेलमा ३–१ को अग्रता दिलाए । ७८औं मिनेटमा जियोभानीले गोल गर्दै खेललाई ३–२ को अवस्थामा ल्याएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा डर्टमन्ड ब्रेमेनसँग ३–२ ले पराजित हुन पुग्यो ।

अर्काे खेलमा साल्केले हर्था बर्लिनलाई अतिरिक्त समयमा ३–२ ले पराजित गर्दै क्वाटरफाइनलमा पुग्न सफल भएको छ ।

प्रकाशित : बुधबार, माघ २२, २०७६०६:००

करण र सुशन चम्किए, नेपाललाई मध्यम लक्ष्य !