काठमाडौँ – कोरोना भाइरस संक्रमणको त्रास बढेका बेला मौका छोपेर ग्यास र पेट्रोलियम पदार्थमा कृत्रिम अभाव सिर्जना गर्नेलाई कारवाही गर्न शुरु गरिएको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन गरेर ग्यास र पेट्रोलियम पदार्थमा कृत्रिम अभाव सिर्जना गर्नेलाई कारवाही गर्न थालेको हो।
ग्यास र पेट्रोलियम पदार्थमा कृत्रिम अभाव सिर्जना गर्ने दुई कालोबजारी विक्रेतालाई दुई लाखका दरले जरीवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार कृत्रिम अभाव सिर्जना गरेको पाइएसँगै टिकाभैरवको सत्याल एण्ड किराना पसल र मैतीदेवी पेट्रोल पम्पललाई दुई लाखका दरले जरीवाना गरिएको छ।
मंगलबार अनुगमन गर्नेक्रममा सत्याल एण्ड किरानाले ग्यास तथा किराना सामानको कृत्रिम अभाव सिर्जना गरेको र मैतिदेवी पेट्रोलियम सप्लायर्सले इन्धन लुकाएर राखेको पाइएको विभागले जनाएको छ।
कोरोना भाइरस संक्रमणको त्रास बढेसँगै बजारमा कृत्रिम अभाव शिर्जना भएको जनागुनासो बढेसँगै अहिले सरकारले बजार अनुगमनलाई तिब्रता दिएको छ।
बजारमा मास्क, ग्यास-पेट्रोलियम पदार्थ, दैनिक उपभोग्य सामान लुकाएर कालोबजारी गर्नेलाई कारवाही गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग सक्रिय छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कतै कृत्रिम अभाव सृजना गरेर तोकिए भन्दा अधिकतम् मूल्य लिएमा ११३७ मा फोन गरेर विभागमा गुनासो गर्न सबैमा आग्रह पनि गरेको छ।