उपमहानगरपालिकाले महिलाका लागि छुट्टै क्वारेन्टाइन कक्ष स्थापना गरेको छ । उपप्रमुख सुशीला मिश्र भट्टका अनुसार धनगढीमा रहेको बी पोलिटेक्निक इन्स्टिच्युटमा २२ श्ययाको महिला क्वारेन्टाइन कक्ष स्थापना गरिएको छ । महिला र पुरुषको छुट्टाछुट्टै आवश्यकताका आधारमा महिला क्वारेन्टाइन कक्षको व्यवस्था गरिएको बताइएको छ ।
संवेदनशीलतालाई हेरेर सबै स्थानीय तहले छुट्टै महिला क्वारेन्टाइन कक्ष स्थापना गर्नुपर्ने उनको भनाइ छ । महिलाका लागि बनाइएको क्वारेन्टाइन विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डअनुसार तयार गरिएको उपप्रमुख भट्टले बताए।
जेसीजद्वारा तीन लाखको खाद्यान्न सहयोग
धनगढी जेसिज परिवारले लकडाउनका कारण छाक टार्न समस्या भएका व्यक्ति र परिवारका लागि रु तीन लाख बराबरको खाद्यान्न सहयोग गरेको छ । धनगढी जेसीजका अध्यक्ष श्याम पाठकका अनुसार धनगढी उपमहानगरपालिका अन्तर्गतको विपद् व्यवस्थापन समितिलाई १५० बोरा चामल, २४ बोरा दाल, ५२ बोरा सोयाविन, दुई बोरा चिउरा, दुई बोरा भुजा, ३४ कार्टुन तेललगायतका खाद्यान्न सामग्री प्रदान गरेको हो ।
बाह्वन साझेदारी वन व्यवस्थापन समितिले अतिविपन्न तथा गरिब परिवारलाई भन्दै विपद् व्यवस्थापन समितिलाई रु एक लाख ५० हजार सहयोग गरेको छ । साना किसान सहकारी संस्थाले लकडाउनका कारण छाक टार्न समस्या भएका व्यक्ति र परिवारका लागि १० क्विन्टल चामल सहयोग गरेको छ ।
यस्तै धनगढीस्थित ऐश्वर्य बहुमुखी क्याम्पसले रु ४५ हजार बराबरको खाद्यान्न सहयोग गरेको छ । राहत सामग्री खरिदका लागि धनगढी जेसीजका उपाध्यक्ष मनिष कँुवरको संयोजकत्वमा थालिएको आर्थिक सहयोग सङ्कलन अभियानमा हाल अमेरिकामा बसोबास गर्ने धनगढी जेसीजका पूर्वसदस्य रोहित भट्टले रु एक लाख १७ हजार सहयोग गरेका छन्।
त्यसैगरी उपमहानगरपालिका–३ का समाजसेवी तथा युवा उद्योगपति दीपबहादुर ऐरले आफ्ना स्व पिता वीरबहादुर ऐरको स्मृतिमा रु २१ हजार १५५ बराबरको खाद्यान्न सामग्रीहरु सहयोग गरेका छन्। उक्त खाद्यान्न सुदूरपश्चिम प्रदेशसभा सदस्य डिल्लीराज पन्त र वडा नं ३ अध्यक्ष बलबहादुर ऐरले विपन्न परिवारलाई संयुक्तरूपमा हस्तान्तरण गरे।