बाढीपीडित सहित ९० घर परिवारलाई राहत सहयोग

विसं.२०७१ को बाढीले घरबारविहिन भई सुर्खेतका विभिन्न शिविरमा बस्दै आएका बाढीपीडित परिवारलाई यहाँका युवाले राहत सहयोग गरेका छन् । युवाले बराहताल गाउँपालिकाका–२ गिरिघाट सुर्खेतमा बस्दै आएका ९० घर परिवारलाई राहत सहयोग गरेका हुन् ।

उनीहरुले बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेत र वडाध्यक्ष योवराज कार्की, सुरक्षाकर्मी र पत्रकारको रोहवरमा राहत सहयोग गरेका हुन् । सडक छेउमा गिट्टी कुटेर ज्याला मजदुरी गर्ने बाढीपीडितको गास लकडाउनले रोकिएको अवस्थालाई मध्यनजरगरी राहत सहयोग गरिएको समाजसेवी युवा एवं सुर्खेत होराईजन एकेडेमीका प्रधानाध्यापक घनश्याम खड्काले बताए।

‘कोभिड–१९’ को प्रतिकार्य तथा रोकथाम गर्न नेपाल सरकारले गरेको लकडाउनबाट सबैभन्दा बढी घरबारविहिनलाई समस्या परेको छ,” युवा खड्काले भने, “यसको पहल पत्रकार तथा समाजसेवी नगेन्द्र उपाध्यायले गरेका हुन् । यतिबेला म र युवा मिन खड्काले रु.३०/३० हजारको खाद्यवस्तु बाढीपीडितलाई उपलब्ध गराएको छौँ ।”

त्यस्तै मध्यपश्चिम बोर्डिङ् स्कूलका प्रधानाध्यापकसमेत रहेका समाजसेवी युवा मीन खड्काले मानवीय समवेदनालाई केन्द्रमा राखेर राहत सहयोग गरिएको बताए। युवा खड्काले भने, “यतिबेला सबैले घरबाहिर ननिस्कनु नै कोरोना रोकथामको उत्तम उपाय हो । यद्यपि यसबाट बाढीपीडित र मजदुर वर्ग बढी चपेटामा छ ।” पीडितलाई सहयोग मात्र नभई सरकारलाई यो संकटमा साथ दिनु हामी सबैको जिम्मेवारी रहेको उनको भनाइ थियो ।

पत्रकार तथा सामाजिक अभियान्ता नगेन्द्र उपाध्यायले दुःख र भोकको समाचार लेख्नेमात्र नभई उनीहरुको भोक मेटाउन काम गर्नु अझ बढी उत्तम ठानेर पीडितका लागि राहत सङ्कलन तथा वितरण अभियानमा लागेको बताए। “बाढीपीडितको समस्या निकै विकराल भएकोले देश विदेशका साथीबाट राहत सङ्कलन तथा वितरण गरिरहेको छु । अब विस्तारै बाढीपीडितको शिविरमा पुगरे राहत वितरण कार्यलाई तीव्रता दिनेछु,” उनले भने ।

बराहताल र भेरीगंगा नगरपालिकागरी ११३ बाढीपीडित परिवारलाई स्थानीय सरकारसँगको समन्वयमा खाद्यान्न उपलब्ध गराइएको उनले बताए। उनका अनुसार उनीहरुलाई युवा व्यवसायी बखतबहादुर शाहीले २० बोरा चामल, मध्यपश्चिम फिटनेस सेन्टरका सञ्चालक प्रेम हमालले रु.२० हजार, नेपाल विद्यार्थी संघ युवा नेता विवेक आचार्य रु २० हजार, न्यू हिमाल ट्रेडर्स सञ्चालक हिमाल जैसी रु २० हजार राहत अभियान सहयोग गरेका हुन्।

त्यस्तै, युवा लवराज सुवेदीले रु.१० हजार, सुशील केसीले रु पाँच हजार, टिभी टुडे नेटवर्कका पत्रकार तिलक पौडेलले रु दुई हजार सहयोग गरेका हुन्। ०७१ सालको बाढीले यहाँका एक हजार ४५ परिवार घरबारविहिन बनाएपछि करिब छ वर्षदेखि सुर्खेत पञ्चपुरी, वीरेन्द्रनगर, भेरीगंगा नगरपालिका र बराहताल गाउँपालिकाका विभिन्न ठाउँका अस्थायी शिविरमा बस्दै आएका छन् ।

प्रकाशित : आइतबार, चैत २३, २०७६०८:४१

हुम्लाका अधिकांश क्वारेन्टाइनस्थलमा आधारभूत सुविधा नभएपछि, हुम्ली बस्न मान्दैनन् क्वारेन्टाइनमा