भारतले क्वारेन्टाइनमा राखेका नेपाली जोखिममा, सर्वोच्चको आदेश सरकारले टेरेन !

काठमाडौँ – सर्वोच्च अदालतले सीमामा फसेका नेपाली नागरिकलाई स्वदेश ल्याउन दिएको आदेश कार्यान्वयनमा सरकारले ढिलाइ गरेको छ ।

चैत २४ गते सर्वोच्चले सरकारका नाममा परमादेश जारी गर्दै उनीहरुलाई नेपाल ल्याई अनिवार्य क्वारेन्टाइनमा राख्न भनेको थियो । तर, सीमापारि फसेका नेपाली मजदूरलाई तत्कालै स्वदेश फर्काउने विषयमा कुनै परिपत्र नआएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

सर्वोच्च अदालतले सीमापारि फसेका नेपालीको उद्धार गरी स्वदेशकै क्वारेन्टाइनमा राख्न आदेश दिएको भए पनि सरकारका तर्फबाट स्थानीय प्रशासनमा कुनै परिपत्र नआएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए ।

उनले भने, ‘परिपत्र नआउँदासम्म भारतीय क्वारेन्टाइनमा बसेकालाई नेपाल ल्याउन सकिने अवस्था छैन ।’ बैतडीसँग सीमा जोडिएका भारतको झुलाघाटका विभिन्न ठाउँमा २५० भन्दा बढी नेपाली मजदूर भारतीय क्वारेन्टाइनमा बसेका छन् ।

नेपाली मजदूरलाई स्वदेश फर्काउन सर्वोच्चले दिएको आदेशका बारेमा एफएम रेडियोबाट सुनेको र आफूहरुलाई छिट्टै स्वदेश फर्काउँछन् भन्ने आशा पलाएको बैतडीको पुर्चौंडी नगरपालिका–८ मल्लादेहीका दीर्घराज जोशीले बताए ।

‘भारतीय क्वारेन्टाइनमा आफूहरुलाई खान, बस्न र पानीको निकै समस्या छ’, उनले भने, ‘एकै कोठामा कोचाकोच गरेर बस्नु परिरहेको छ ।’

कोरोनाको जोखिम न्यूनीकरणका लागि दूरी कायम गरेर बस्नुपर्ने भए पनि आफूहरु कोचिएर बस्नु परिरहेको अर्का नेपाली मजदूर रमेश जोशीको भनाइ छ । यस्तै पुर्चौंडी घर भएका पुष्कर बोहराले पनि आफूहरु १०० जति डिडिहाटमा अलपत्र परेको बताए ।

उनले भने, ‘हामीलाई स्वदेशकै क्वारेन्टाइनमा राख्न आग्रह छ ।’ सर्वोच्च अदालतले दिएको आदेश छिटो कार्यान्वयन गर्न पनि मजदूरले सरकारलाई आग्रह गरेका छन् । भारतीय क्वारेन्टाइनमा बसोबासको सहज व्यवस्था नहुँदा अझै पनि ट्युबमार्फत जोखिम मोलेर नेपाल फर्कने क्रम भने रोकिएको छैन ।

भारतीय क्वारेन्टाइनमा बसेका नेपाली समस्यामा

लकडाउनपश्चात सीमा बन्द भएपछि भारतको झुलाघाटका विभिन्न स्थानमा क्वारेन्टाइनमा बसेका नेपाली मजदूरलाई बसोबासको समस्या भएको छ ।

क्वारेन्टाइनमा बसेका नेपालीलाई खानपिनको व्यवस्था भारतीय प्रशासनले गरेको भए पनि उनीहरु एकै कोठाको भुइँमा बस्नुपर्ने बाध्यता रहिआएको छ । सीमानाका बन्द भएपछि अलपत्र परेका नेपालीलाई भारतीय प्रशासनले क्वारेन्टाइनमा राखेको हो ।

दुई सय ५१ नेपाली मजदूरलाई झुलाघाटको तालेश्वर धर्मशाला, खरक्युडा, रज्युडा र जामीरपानीका आधारभूत विद्यालयका क्वारेन्टाइनमा राखिएको छ ।

क्वारेन्टाइनमा राखिएका नेपाली मजदूर आफैँसँग भएको कपडा बिछ्याएर भुइँमै सुत्न बाध्य भएको भारतबाट फर्केका सुर्नया–८ का मानबहादुर बोहराले बताए । उनले भने, ‘क्वारेन्टाइनमा कोचाकोच गरेर बस्नुपर्ने अवस्था रहिआएको छ ।’

झुलाघाटका तीन ठाउँमा बसिरहेका नेपाली मजदूरले एकै कोठामा कोचाकोच गरेर बस्नुपरेको बताएका छन् । खानाको लागि भारत सरकारले व्यवस्था गरेको भए पनि बसोबासको भने निकै समस्या भएको पुरचौंडी नगरपालिका–३ न्वादेउका जोगे पार्कीले गुनासो गरे ।

‘एकै विद्यालयमा ८५ जना बस्नु परिरहेको छ’, उनले भने, ‘हामीसँग भएको कपडा बिछ्याएर रात काट्नुपर्ने बाध्यता छ ।’ स्वदेश फर्कन पाए एक महिना भने पनि क्वारेन्टाइनमा बस्न तयार भएको मजदूरले बताएका छन् ।

भारतमा क्वारेन्टाइनमा बसेका नेपाली मजदूरलाई समस्या भएको भारतीय पत्रकार प्रमोदकुमार भट्टले जानकारी दिए ।

क्वारेन्टाइनमा बसेका नेपालीको खानपिन तथा बसोबास व्यवस्था मिलाउन पिथौरागढ प्रशासनलाई आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए ।

उद्धार गर्न सरकारलाई आग्रह

नेपाल तरुण दल बैतडीले सीमानाकामा फसेका नेपाली मजदूरलाई तत्काल उद्धार गर्न सरकारलाई आग्रह गरेको छ ।

सीमामा अलपत्र परेका नागरिकको पीडा बुझेर तत्काल उद्धार गरी नेपालमै क्वारेन्टाइनमा राख्न तरुण दलले आग्रह गरेको हो ।

तरुण दल बैतडीका उपाध्यक्ष महेश भट्टद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा सीमापारि नेपालीले ठूलो कष्ट भोगिरहेकाले उनीहरुलाई स्वदेश फर्काई क्वारेन्टाइनमा राख्न आग्रह गरिएको छ ।

दूधे बालकसहित महिला तथा पुरुष झुलाघाट र धार्चुलालगायतका सीमामा फसेकाले उनीहरूको उद्धार गरी स्वदेश फर्काउन पनि तरुण दलले आग्रह गरेको छ ।

अवैध प्रवेश रोक्न सीमामा सशस्त्र प्रहरी परिचालन

भारतसँग सीमा जोडिएको बैतडीका सीमाक्षेत्रमा आवागमनमा कडाइ गरिएको छ ।

लकडाउनका बेला महाकाली नदीबाट अवैधरूपमा नेपाल भित्रिने क्रम नरोकिएपछि भारतसँग सीमा जोडिएका बैतडीका विभिन्न नाकामा सशस्त्र प्रहरी परिचालन गरी आवागमनमा कडाइ गरिएको हो ।

जिल्लाका विभिन्न १० भन्दा बढी नाका (घाट)मा सशस्त्र प्रहरी परिचालन गरिएको हो ।

सशस्त्र प्रहरी बल नम्बर ५१ गुल्म बैतडीबाट सीमा क्षेत्रमा पाँच टोली परिचालन भएको सशस्त्र प्रहरी नायब उपरीक्षक अमित सिंहले जानकारी दिए ।

जिल्लाको शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र दशरथचन्द नगरपालिकाका विभिन्न सीमा क्षेत्रमा ६३ जनाको टोली परिचालन गरिएको उनले बताए ।

शिवनाथको कुस्मतघाट र नागार्जुनघाट, पञ्चेश्वरको रोलघाट, हल्दुविनायक, धर्मघाट, विनायकघाट, रोडिदेवल र गिरेगडा र दशरथचन्द नगरपालिकाको बारोकोट र तिरखडेनीमा गरी पाँच टोली परिचालन गरिएका छन् ।

लकडाउनमा सीमानाका बन्द भएपछि भारतबाट अवैधरूपमा महाकालीमा ट्युबमार्फत नेपाल भित्रिने क्रम नरोकिएपछि सशस्त्रको टोली परिचालन गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए ।

अवैधरूपमा नेपाल भित्रिने क्रम रोक्न सीमामा अस्थायी चेक पोइन्ट स्थापना गरी उच्च सतर्कता अपनाइएको उनले बताए ।

सशस्त्र प्रहरी परिचालनले सीमानाकाको आवागमनमा कडाइ भएको छ । लकडाउनका बेला अवैधरूपमा भारतबाट आएका सुदूरपश्चिमका नागरिकमा कोरोना सङ्क्रमण देखा परेपछि सीमा क्षेत्रमा आवागमनमा कडाइ गरिएको हो ।

सीमा क्षेत्रका आवागमनमा कडाइ गर्न आवश्यकताअनुसार थप सुरक्षाकर्मी परिचालन गरिने जनाइएको छ ।

प्रकाशित : सोमबार, बैशाख ०१, २०७७०३:४८

कोरोनाबाट सुदूरपश्चिम प्रदेश उच्च जोखिममा: फेरी थप एकजना कोरोना संक्रमण देखियो !