लहान – भारतबाट चोरबाटो हुँदै नेपाल फर्किदै गरेका छ जनालाई सिरहा प्रहरीले पक्राउ गरी क्वारेन्टाइनमा पठाएको छ ।
सिरहाको औरही गाउँपालिकास्थित इटाटार नाका हुँदै नेपाल प्रवेश गर्न लागेका छ जनालाई प्रहरीले पक्राउ गरी क्वाइरेन्टाइन पठाएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए’।
भारतको विभिन्न शहरमा राजमिस्त्रीको काम गरी फर्किरहेका छ जनालाई प्रहरीले भारतीय सीमामा पुगेर नियन्त्रणमा लिई भारतको विहारस्थित मधुवनी जिल्लाको लदनियाँ थानालाई क्वारेन्टाइनमा राख्न जिम्मा लगाए पनि उनीहरु नेपाल आइपुगेका हुन् ।
हिरासतबाट फरार एक पक्राउ
प्रहरी हिरासतबाट फरार एक युवकलाई बिहीबार सिरहा प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेशपुरपतारीको टोलीले प्रहरी हिरासतबाट फरार सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका–३ निवासी ३३ वर्षीय सञ्जयकुमार यादवलाई पक्राउ गरेको हो । बहुविवाह मुद्दामा थुनामा रहेका यादव गत मङ्सिर १४ गते प्रहरी हिरासतबाट फरार भएका थिए ।
हावाहुरीले छाना उडाएपछि टहरामा बास
बिहीबारको हावाहुरीले घरको छाना उडाएपछि बनेपा नगरपालिका–९ मगरगाउँका रमेश रानामगर र बैजु रानामगरको परिवार नजिकैको जस्ताको टहरामा बस्न बाध्य भएको छ ।
हावाहुरीले ढुङ्गामाटोले बनेको घरको छाना उडाएसँगै परेको असिनापानीले घरको अन्नपात र लत्ताकपडासमेत भिजेको नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोकका सभापति रघुवर चौ प्रधानले बताए । “हावाहुरीले घरको छाना उडाएर असिनापानीले सबै भिजेर समस्यामा परेका मगर परिवारलाई हामीले तत्काल त्रिपालको व्यवस्था गरेर नजिकैको टहरामा बस्ने व्यवस्थाका लागि सहयोग ग¥यौँ ।” चौ प्रधानले भने, “दिउँसो पनि पानी परेपछि सानो टहरामा बस्न र खानका लागि समस्या भएका कारण तत्कालका लागि केही राहतको व्यवस्था गरेका छौँ ।”
स्थानीय बासिन्दा महेश्वर थापामगरका अनुसार हावाहुरीले मगर गाउँमा रहेका करिब १५÷१६ टहरासमेत उडाएकामा रमेश र बैजुको घरमा धेरै क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाका अनुसार हावाहुरीले घरको छाना उडाउँदा करिब रु एक लाख ५० हजार बराबरको क्षति भएको बताए ।