काठमाडौँ – जनप्रतिनिधिबीच हानाहान हुँदा स्याङ्जामा एक निर्वाचित जनप्रतिनिधि घाइते भएका छन्। स्याङ्जाको गल्याङ नगरपालिकामा जनप्रतिनिधिबीच हानाहान हुँदा एक घाइते भएका हुन्।
घाइते हुनेमा वालिङ नगरपालिका १० का अध्यक्ष अनन्तराज गैह्रै रहेका छन्। उनको बायाँ हात भाँच्चिएको छ । हाल उनको पोखरास्थित फेवासिटी हस्पिटलमा उपचार भइरहेको छ।
गल्याङ नगरपालिका ८ स्थित एक कटेजमा जिल्ला समन्वय समितिका उपप्रमुख दिलिपकुमार बगाले र वालिङ नगरपालिका १० का अध्यक्ष अनन्तराज गैह्रैबीच झगडा भएको र सो क्रममा दुवै हातपातमा उत्रिएपछि गैह्रैको हात भाँचिएको बताइएको छ।
बताइएअनुसार, कालीगण्डकी गाउँपालिका कोरोना संक्रमणको अनुगमन गरेर फर्किने क्रममा सरकारी गाडी दुरुपयोग गरेको विषयमा विवाद भई दुईबीच हानाहान भएको हो। उपप्रमुख बगालेलाई अध्यक्ष गैह्रेले सरकारी गाडी दुरुपयोग गरेको आरोप लगाएक थिए।
घटनामा संलग्न उप-प्रमुख बगाले र वडा अध्यक्ष गैरे एउटै वडाका निर्वाचित जनप्रतिनिधि हुन्। घटनामा घाइते भएका गैह्रैले कारवाहीको माग गर्दै जिल्ला समन्वय समितिका उपप्रमुख दिलिपकुमार बगा विरुद्ध उजुरी पनि दिएका छन्।