भोजपुरका एकजनामा कोरोना द्रुत निदानात्मक परीक्षण रिपोर्ट पोजेटिभ !

सांकेतिक तस्विर

भोजपुर – यहाँका एक युवकको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ देखिएको छ । हतुवागढी गाउँपालिकाका २६ वर्षीय युवकको मंगलबार द्रुत निदानात्मक परीक्षण (आरडिटी) गर्दा रिपोर्ट पोजेटिभ देखिएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिए।

गत साल फागुन ३० गते साउदी अरबबाट काठमाडौंँ आएका ती युवक चैत ११ गते हतुवागढी आइपुगेका थिए । होम क्वारेन्टाइनमा रहेका उनलार्ई पोजेटिभ देखिएपछि प्राथामिक स्वास्थ्य केन्द्र घोरेटारमा रहेको आइसोलेशनमा राखिएको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ ।

उनको स्वाब संकलनका लागि मंगलबार नै जिल्ला अस्पतालबाट चिकित्सकको टोली हतुवागढी लागेको स्वास्थ्य कार्यालयले बताएको छ । स्वाब संकलन गरेर परीक्षणका लागि बुधबार बिहान बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइने कार्यालयले जनाएको छ ।

कोरोना रिपोर्ट नेगेटिभ

सप्तरीका ७१ वर्षीय जेष्ठ नागरिकको पिसीआर विधिबाट गरिएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण गर्दा नेगेटिभ आएको गजेन्द्रनारायण सिंह अस्पतालले जनाएको छ ।

सप्तकोशी नगरपालिका–१ मा शनिबार ७४ जनाको आरडिटी परीक्षण गरिएको थियो । राजविराज अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासका अनुसार आइतबार राति धरान पठाइएको २२ जनाको स्वाबको परीक्षण गर्दा २१ जनाको नेगेटिभ आएको छ, एक जनाको रिपोर्ट आउन बाँकी छ ।

एक साताअघि पनि आरडिटी प्रविधिमार्फत एन्टिबडी परीक्षण गर्दा दुईजनाको रिपोर्ट पोजेटिभ देखिएकामा स्वाब परीक्षण गर्दा नेगेटिभ आएको थियो । योसँगै सप्तरीमा हालसम्म गरिएको ४० वटा स्वाब परीक्षणमा ३९ जनाको नेगेटिभ आएको छ, एउटा रिपोर्ट आउन बाँकी छ ।

कञ्चनरूप नगरपालिका–२ र सप्तकोशी नगरपालिका–१ स्थित मस्जिदमा आरडिटी परीक्षण तीव्र बनाइएको छ । हालसम्म सप्तरीमा ४८ं० जनाको आरडिटी परीक्षण भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

सप्तकोशी नगरपालिकाका बासिन्दा पिसिआर प्रविधिबाट रिपोर्ट नेगेटिभ आएपछि निकै राहत महसुस गरेको सप्तकोशी वडा नं २ का सदस्य जाहिर हुसेनले बताए।

प्रकाशित : मङ्गलबार, बैशाख ०९, २०७७१३:०७

आधा किलो सामान किनेजस्तो गरेर बाहिर घुम्ने बढे, जरिवाना असुल गर्न थालियो !