काठमाडौंमा पसल खोल्न दिइने, अवरोध नगरिने !

काठमाडौँ – काठमाडौँ उपत्यकामा पसल खोल्नेहरुलाई अवरोध नगरिने भएको छ। जिल्ला समन्वय समिति काठमाडौंमा विहीबार भएको संयुक्त छलफलले उपत्यकामा पसल खोल्नेहरुलाई अवरोध नगर्ने निर्णय गरेको हो।

बिहीबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले उपत्यकाका व्यापारीहरुसंग छलफल गरेको र सो क्रममा बजार पसल सञ्चालन गर्ने वातावरण बनाउने निष्कर्ष निस्किएको जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख जनकराज दाहालले बताए।

सामाजिक दुरीसहितको स्वास्थ्य सर्तकता कायम गरी बजार पसल सञ्चालन गर्ने वातावरण बनाउन लकडाउनमा समन्वय गर्ने सम्बन्धमा सरकारलाई आग्रह गर्ने बैठकको निर्णय छ।

व्यापारीहरुबाट प्राप्त सुझावका आधारमा व्यवसाय सञ्चालनका लागि विभिन्‍न मोडल तयार पार्दे सो मोडलमा व्यवसाय सञ्चालन गर्न लकडाउन खुकुलो बनाउन सरकारलाई सुझाव दिन लागिएको उनको भनाई छ।

छलफल पश्चात अब छलफलको निष्कर्षसहित व्यवसाय सञ्चालनका लागि आवश्यक निर्देशिका तयार गरि लागु गर्न कोभिड १९ रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई सिफारिस गरिने छ।

छलफलका क्रममा व्यवसायीहरुले बिहान ११ बजेदेखि साँझ साढे ५ बजे सम्म उद्योग तथा बजार पसल सञ्चालनको वातावरण मिलाउन सुझाव दिएका थिए । व्यवसायीहरुले दिन बिराएर पालैपालो सबै किसिमको उद्योग व्यवसाय र पसल सञ्चालनको व्यवस्था मिलाउन सुझाव दिएको बताइएको छ।

प्रकाशित : बिहिबार, जेठ २२, २०७७१०:२८

कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुग्यो, थप ३ सय ३४ जनामा कोरोनाको पुष्टि !