काठमाडौं । सरकार ३० हजार कोराना भाइरस संक्रमितलाई लक्ष्य गरेर स्वास्थ्य सामग्री व्यवस्थापनमा लागेको छ । कोरोना भाइरस संक्रमितको सख्या दैनिक रुपमा सोचेभन्दा बढ्न थालेपछि स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले मुलुकमा १५ हजारदेखि ३० हजारसम्म संक्रमित हुन सक्ने अनुमान गरी स्वास्थ्य सामग्रीको व्यवस्थापनमा लागिएको महाशाखाका आपूर्ति व्यवस्था शाखाप्रमुख चुडामणि भण्डारीले जानकारी दिए । यो समाचार आजको सौर्य दैनिकमा प्रकशित छ।
‘दैनिक रुपमा संक्रमित बढ्न थालेपछि हामीले सोचेभन्दा बढी नै संक्रमित हुने अनुमान गरेका छौँ’, उनले भने, ‘त्यही भएर संक्रमित बढ्ने अनुमानले स्वास्थ्य सामग्री खरिदको प्रक्रिया पनि अगाडि बढाएका छाँै ।’ पहिले एक हजार ५०० संक्रमित हुने अनुमान गरिएको थियो भने पछिल्लोपटक भारतबाट संक्रमित आउन थालेपछि यो सख्या पाँच हजार पुग्ने अनुमान सरकारको छ । केही दिनअघि पाँच हजार संक्रमित हुने अनुमान गरेको भएपनि अहिलेको अवस्था हेर्दा त्योभन्दा बढी हुने अनुमान गरेर सामग्री व्यवस्थापनतिर लागेको हो ।
अहिले नै संक्रमितको सख्या चार हजार पुगिसकेका छन् । दैनिक दुई–तीन सयको सख्यामा संक्रमित बढिरहेका छन । संक्रमणबाट अहिलेसम्म १४ को मृत्यु भइसकेको छ । यस्तै अहिलेसम्म ४८८ जना निको भएर घर फर्किसकेका छन । नेपालमा पहिलोपटक माघ ९ गते चीनको वुहानबाट आएका आएका एक विद्यार्थीमा संक्रमण देखिएको थियो ।
पछिल्लोपटक भारतबाट स्वदेश फर्किरहेका मानिसमा परीक्षण गर्दा संक्रमण देखिएको छ । उनका अनुसार व्यवस्थापन महाशाखामार्फत अहिलेसम्म करिब रु ९४ करोडको स्वास्थ्य सामग्री खरिद गरिसकेको छ । तीमध्ये रु ४० करोड भुक्तानी भइसकेको र अरु भुक्तानीको प्रक्रियामा रहेको छ । उनले प्रदेश र जिल्लालाई जेठको पहिलो हप्ता पर्याप्त मात्रामा सामग्री पठाएकाले अहिले कहीँ पनि अपुग नरहेको जानकारी दिए ।
महाशाखाले पहिले उदयपुर, रौतहट, पर्सा र बाँकेमा केन्द्रबाट नै सिधै सामग्री पठाउने व्यवस्था गरेको थियो । तर अहिले सातवटै प्रदेश र कोभिड–१९ अस्पतालमा आवश्यक सामग्री पठाउने व्यवस्था गरिएको उनले बताए । उनका अनुसार व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) सेट पाँच हजार ८३५, पिपिइ गाउन ६७ हजार, सर्जिकल मास्क १९ लाख ८९ हजार, एन–९५ मास्क ६९ लाख वितरण गरिएको छ ।
यस्तै पिपिइ सेट पाँच हजार, पिपिइ गाउन एक लाख ७२ हजार, मास्क १४ लाख ७४ हजार र एन–९५ एक लाख ८१ मौज्दात रहेको छ । ती सामग्रीलाई आवश्यकअनुसार प्रदेश र कोभिड–१९ अस्पताललाई पठाइने छ । उनले मापदण्ड वितरित सामग्री प्रयोग गर्नाले चाँडै सकिएको समेत बताए ।