नेपाली नागरिकता लिने विदेशीलाई हुने कारवाही बढाइदै, दिलाउनेलाई हुने कारवाही पनि बढ्दै !

काठमाडौँ – झुठो विवरण दिएर नेपाली नागरिकता लिने विदेशीलाई हुने जरिवाना तथा कैद बढाइने भएको छ। ‘नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ मा झुठो विवरण दिएर नेपाली नागरिकता लिने विदेशीलाई हुने जरिवाना तथा कैद बढाउने व्यवस्था गर्न लागिएको हो।

चालु अवस्थामा अहिले कुनै विदेशीले नेपाली नागरिक भएको दाबी गरी झुटो विवरण दिई नेपाली नागरिकता प्राप्त गरेमा एक वर्षदेखि पाँच वर्षसम्म कैद वा पचास हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ।

तर, अब त्यसरी नागरिकता प्राप्त गरेका विदेशीलाई ७ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवाना हुनेछ। ‘नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक’मा यस्तो व्यवस्था गर्ने बारे राज्य व्यवस्था तथा सुशासन समितिमा सहमति जुटेको छ। साथै झुठो विवरण दिएर प्राप्त गरेको नागरिकता रद्द पनि हुनेछ।

यस्तै झुटो विवरणका आधारमा नागरिकता दिलाउने व्यक्तिलाई हुने दण्ड पनि बढाइने भएको छ। अब विदेशीलाई झुटो विवरणका आधारमा नागरिकता दिलाउने कार्यमा सनाखत वा सिफारिस गर्नेलाई तीन वर्ष देखि पाँच वर्षसम्म कैद र एक लाख रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिवाना हुनेछ।

अहिले विदेशीलाई झुटो विवरणका आधारमा नागरिकता दिलाउने कार्यमा सनाखत वा सिफारिस गर्नेलाई छ महिनादेखि तीन वर्षसम्म कैद वा पच्चीस हजारदेखि पचास हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ।

नागरिकता विधेयकको प्रतिवेदन प्रतिनिधिसभामा पेश भैसकेको छ।

प्रकाशित : मङ्गलबार, असार ०९, २०७७१५:४४

“उपत्यका बाहिरबाट आउने डेरावाललाई पिसिआर परीक्षण गर्न अनावश्यक दवाव नदिनु”