कोरोना कोषबाट एकैपटक साढे ५५ करोड बढी निकासा !

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट एकैपटक साढे ५५ करोड रुपैयाँभन्दा बढी झिकेर खर्च गरेको छ । ९ असारमा बसेको कोष सञ्चालन समितिको सिफारिसबमोजिम महालेखा नियन्त्रक कार्यालयले ५५ करोड ६३ लाख रुपैयाँ निकासा गरेको हो । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ।

कोष सञ्चालक समितिका अध्यक्ष तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलको अध्यक्षतामा बसेको सञ्चालक समितिको सातौं बैठकको निर्णयअनुसार महालेखा नियन्त्रक कार्यालयले सो रकम निकासा गरेको हो ।
सो कार्यालयका अनुसार निकासा गरिएको रकम कोरोना संक्रमण भए–नभएकोबारे जानकारी लिन स्वाब संकलनका क्रममा विमान चार्टर्डमा लागेको हवाई भाडादेखि नेपाली सेनाका लागि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा आवश्यक स्वास्थ्य उपकरण खरिदसम्म खर्च हुनेछ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ८८ लाख ५५ हजार रुपैयाँ निकासा भएको छ । सो रकम स्वाब संकलनमा उडेका विमानको भाडा भुक्तानी गर्न निकासा भएको हो । यसैगरी, सैनिक मुख्यालयका नाममा ९ करोड २६ लाख ८० हजार रुपैयाँ निकासा भएको छ । सो रकम वीरेन्द्र सैनिक अस्पताल छाउनीको आइसियू तथा पूर्वाधार व्यवस्थापनमा खर्च गरिनेछ ।

राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका नाममा २५ लाख रुपैयाँ निकासा भएको छ । सो रकम कोरोनाका बिरामी व्यक्ति तथा स्वास्थ्यकर्मी उपचार खर्चबापतमा प्रयोग हुने महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

कोषबाट सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका नाममा ३८ करोड रुपैयाँ निकासा भएको छ । यसमध्ये प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका नाममा ४÷४ करोड रुपैयाँ निकासा गरिएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका नाममा ६÷६ करोड रुपैयाँ निकासा गरिएको छ । प्रदेश २ र प्रदेश ५ मा ७÷७ करोड रुपैयाँ निकासा भएको छ । सो रकम सम्बन्धित स्थानीय तहमा आवश्यकता विश्लेषणका आधारमा रकम उपलब्ध गराउने गरी खर्च हुने बताइएको छ ।

अहिलेसम्म कोरोना कोषबाट विभिन्न ४८ वटा स्थानीय तहमा जाने गरी ७ करोड २२ लाख ६८ हजार ३ सय रुपैयाँ निकासा भएको छ । सोे रकम स्थानीय तहहरूले सञ्चालन गरेका क्वारेन्टिन व्यवस्थापन गर्न खर्च हुने बताइएको छ ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण पहिलोपटक नेपालमा देखा परेसँगै सरकारले गत चैतमा सो कोष खडा गरेको थियो । यस कोषमा गत १० असारसम्म कुल २ अर्ब ३५ करोड १२ लाख ९ हजार १ सय ७० रुपैयाँ ८१ पैसा जम्मा भएको छ । सो रकम यहाँका विभिन्न सरकारी निकाय तथा निजी क्षेत्रबाट जम्मा भएको हो ।

प्रकाशित : मङ्गलबार, असार १६, २०७७०२:३६

निजामतीमा ६० वर्षे उमेर हद, खस÷आर्यलाई पनि आरक्षण !