भारतमा झण्डै छ लाख सङ्क्रमित, मृत्यु बढ्दै !

नयाँदिल्ली, १७ असार (रासस/एएनआई) : महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट सङ्क्रमित हुनेहरुको संख्या भारतमा छ लाख पुग्न लागेको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार भारतमा हालसम्म कोरोनाभाइरसबाट पाँच लाख ८५ हजार ४९३ जना सङ्क्रमित भएका छन् ।

तीमध्ये पछिल्लो २४ घण्टामा मात्रै १८ हजार ६५३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दुई लाख २० हजार ११४ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेको जनाएको छ ।

कुल सङ्क्रमितमध्ये तीन लाख ४७ हजार ९७९ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म १७ हजार ४०० जनाको मृत्यु भइसकेको छ । ती मध्ये ५०७ जनाको मृत्यु पछिल्लो २४ घण्टामा भएको हो ।

प्रदेश अनुसार हेर्दा भारतमा सबैभन्दा धेरै सङ्क्रमित महाराष्ट्रमा देखिएका छन् । त्यहाँ कुल सङ्क्रमितको संख्या एक लाख ७४ हजार ७६१ पुगेको छ । त्यसैगरी तमिलनाडुमा ९० हजार १६७ जना सङ्क्रमित भएका छन् । अधिकारीहरुका अनुसार तमिलनाडुमा एक हजार २०१ जनाको मृत्यु भएको छ भने दिल्ली प्रदेशमा ८७ हजार ३६० जना सङ्क्रमित भएका छन् ।

कोरोनाभाइरसका कारण विश्वभर पाँच लाखको मृत्यु, ५८ लाख सङ्क्रमणमुक्त

कोरोनाभाइरसबाट सङ्क्रमित भएर विश्वभरी बुधबारसम्ममा पाँच लाखभन्दा बढीको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनका अधिकारीहरुले दिएको पछिल्लो विवरण अनुसार संसारभरी मृत्यु भएकाहरुको संख्या पाँच लाख १४ हजार ३२२ रहेको छ ।

विश्वभरी अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको संख्या ५८ लाख १२ हजार १० पुगेको छ भने कुल सङ्क्रमितको संख्या एक करोड ६ लाख नाघेको छ ।

कुल सङ्क्रमितहरुको संख्यामध्ये सबैभन्दा धेरै अमेरिकामै रहेको पाइएको छ । अमेरिकामा अहिलेसम्म २७ लाख २७ हजार त९९६ जना सङ्क्रमित भएका छन् । कोरोनाका कारण अमेरिकामा मृत्यु हुनेको संख्या एक लाख ३० हजार १२३ पुगेको छ ।

कोरोनाबाट दोस्रो धेरै प्रभावित हुने देशमा अहिले ब्राजिल भएको छ । शुरुमा प्रभावितको सूचीमा पछाडी नै रहेको ब्राजिल अहिले अग्रस्थानमा छ । ब्राजिलमा अहिलेसम्म १४ लाख आठ हजार ४८५ जना सङ्क्रमित भएका छन् भने ५९ हजार ६५६ जनाको मृत्यु भएको छ ।

त्यसैगरी तेस्रो धेरै प्रभावित भएको रुसमा छ लाख ५४ हजार ४०५ जना सङ्क्रमित हुँदा नौ हजार ५३६ जनाको मृत्यु भएको छ ।

सङ्क्रमितहरुको संख्याका आधारमा चौथोमा भारत, पाँचौमा बेलायत, छैठौँमा स्पेन, सातौमा पेरु, आठौँमा चिली, नवौँमा इटाली र दशौँमा इरान रहेका छन् ।कोरोनाका कारण विश्वभरी सङ्क्रमितहरुको संख्यामा कमी नआए पनि मानवीय गतिविधिहरुमा बृद्धि हुन थालेको छ ।

प्रकाशित : बुधबार, असार १७, २०७७०८:४९

कोरोना कहरका बीच विवाह, भोलिपल्टै बेहुलाको मृत्यु, सहभागी भएका सय भन्दा बढीमा संक्रमण !