काठमाडौँ – कोरोना भाइरस संक्रमण दिन-दिनै बढ्न थालेपछि सरकारले राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक लगाएको छ। संक्रमण बढेपछि गृह मन्त्रालयले बिहिबार देखि लागू हुने गरी राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक लगाएको हो।
गृहले लागू गर्न लागेको उक्त निर्णय काठमाडौं उपत्यकासहित २ सयभन्दा बढी सक्रिय संक्रमित भएका क्षेत्रमा लागू हुने मन्त्रायलका सह–प्रवक्ता उमाकान्त अधिकारीले जनाएका छन्।
बुधबार अधिकारीले एक विज्ञप्ति जारी गर्दै बिहीबारबाटै लागू हुने गरी काठमाडौं उपत्यका सहितका २ सयभन्दा बढी संक्रमित भएका जिल्लामा जोरविजोर प्रणाली लागू गर्ने निर्णय गरेको पनि जानकारी गराएका छन्।
साथै गृहले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी जनस्वास्थ्य मापदण्ड तथा गृह मन्त्रालयद्वारा जारी सुरक्षा मापदण्ड कडाईका साथ पालना गर्ने, गराउने, मास्क नलगाउने वा जनस्वास्थ्य मापदण्डको उल्लंघन गर्ने व्यक्तिलाई दण्ड जरिवाना गर्न पनि आफू मातहतका निकायलाई निर्देशन दिएको छ।
यस अगाडी नै काठमाण्डौं उपत्यका प्रवेश गर्ने अत्यावश्यक ढुवानी बाहेकका अन्य सवे यात्रुबाहक सवारी साधनहरुलाई बेलुका ७:०० बजेदेखि विहान ७:०० बजेसम्म आवागमन निषेध गरिएको व्यवस्थालाई कडाईका साथ लागू गर्न गृहको निर्देशन छ।

नेपाल सरकारको निर्णय बमोजिम आगमन अनुमति पाएका व्यक्ति बाहेक अन्तर्राष्ट्रिय सीमा नाकामा हुने आवतजावतलाई कडाइका साथ निषेध गर्ने निर्णय पनि गृहले गरेको छ।

