एजेन्सी – विज्ञहरुको युरोपमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर शुरु भएको चेतवानी दिँदै कडा लकडाउन गर्नुपर्ने अवस्था आएको बताएका छन्।
युरोपका विभिन्न देशहरुमा पुनः कोरोना भाइरस संक्रमित फेला पर्न थालेको प्रति विज्ञहरुले चिन्ता व्यक्त गरेका छन्। जर्मनीका चिकित्सक संघका प्रमुख मानिसहरूले सामाजिक दुरीका नियमहरू नअपनाउँदा देशमा कोरोनाको दोस्रो लहर शुरु भएको बताउँछन्।
जर्मनीमा बितेको २४ घण्टामा १ हजार २४ जना नयाँ कोरोना भाइरस संक्रमित फेला परेका छन्। त्यहाँ अहिले सम्म कोरोना भाइरस संक्रमितको संख्या २ लाख १४ हजार नाघिसकेको छ भने ज्यान गुमाउनेको संख्या ९ हजार २ सय ४५ पुगेको छ।
यस्तै स्पेनमा पनि बितेको २४ घटनामा संक्रमितको संख्यामा उच्च वृद्धि भएको छ। गएको २४ घण्टामा त्यहाँ २ हजार ९ सय ५३ नयाँ संक्रमित फेला परेका छन्। स्पेनमा अहिले सम्म २८ हजार बढीले ज्यान गुमाइसकेको अवस्था छ।
फ्रान्समा पनि कोरोनाको दोस्रो लहर देखिएको छ। त्यहाँ बितेको २४ घण्टामा १ हजार ६ सय ९५ नयाँ कोरोना भाइरस संक्रमित फेला परेका छन्। यो समाचार तयार पार्दा सम्म फ्रान्समा संक्रमितको संख्या १ लाख ९४ हजार २९ पुगेको छ। त्यहाँ कुल संक्रमित मध्ये ३० हजार बढीले ज्यान गुमाइसकेका छन्। पूरै युरोपमा गएको २४ घण्टामा करिब २० हजार कोरोना संक्रमित भेटिएका छन्।
युरोपमा अधिकांश देशमा कोरोना भाइरस संक्रमितको संख्या पुनः बढ्न थालेपछि विज्ञहरुले संयमता अपनाउन आग्रह गरिरहेका छन्। स्थिति पुनः नियन्त्रण बाहिर जानु भन्दा अगाडी नै आवश्यक सावधानी अपनाउन विज्ञहरुको सुझाव छ।