काठमाडौँ- काठमाडौँ कान्तिपथ स्थित ग्राण्डिसिटी अस्पतालमा एक महिलाले तिम्ल्याहा सन्तानलाई जन्मदिएकी छन्। काठमाडौँकी २७ वर्षीय श्रृजना लम्सालले बिहिबार बिहान बिहान साढे ६ बजे शल्यक्रिया पश्चात तिम्ल्याहा सन्तानलाई जन्म दिएकी हुन्। ग्राण्डिसिटी अस्पतालका अनुसार जन्मिएका तीनै शिशु स्वस्थ रहेका छन् भने दुई शिचु २ केजीका र १ जना १ केजी ९० ग्रामका रहेका छन्। तीन सन्तानमध्ये २ छोरी र १ छोरा रहेको अस्पतालले जनाएको छ।
तिम्लाहा शिशुका बाबु बनेका सुबोध पौडेल तिम्लाहा सन्तान हुने थाहा पाएपछि आत्तिए पनि अहिले आएर भने पहिलाका दुखहरु हराएको बताउँछन्। “बाबुआमा बन्न सजिलो रहेनछ। तर यस अघि पाएको दुख र लागेको डर सन्तानको मुख देख्ने बित्तिकै उडेको छ।”,उनी भन्छन्।
पौडेलका अनुसार गर्भ रहेको ४ हप्तामा जाँच गर्दा जुम्ल्याहा हुन सक्ने देखिएको चिकित्सकहरुले बताएका थिए। तर, ८ हप्तामा गरिएको अल्ट्रासाउन्डले भने फरक अवस्था देखायो। उक्त अल्ट्रासाउन्डले श्रृजनाको गर्भमा तीन सन्तान रहेको पुष्टि गरेको थियो।
तीन सन्तान गर्भमा रहेको थाहा पाएपछि आफूहरु आत्तिएको पौडेल बताउँछन्। गर्भवती श्रीमतीको स्याहार गर्न कोरोना महामारी चुनौती र अवसर दुवै बनेको उनको भनाई छ।
लकडाउनका कारण श्रीमतीको राम्रो स्याहार राख्न सकेको उनी बताउँछन्। तर, नियमित चेक-जाँचको लागि अस्पताल लैजाँदा भने आफूले चुनौतिको सामना गरेको उनले बताए।
“लकडाउनले झन् श्रीमतीको ख्याल राख्न मलाई सहयोग भयो।”,उनी भन्छन्,”तर कोभिडले अस्पताल ल्याउन घर लैजान भने समस्या पार्यो।”