काठमाडौँ – शुक्रबार काठमाडौँ उपत्यकामा अहिले सम्मकै बढी कोरोना भाइरस संक्रमित फेला परेका छन्। उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणबाट अहिले सम्मकै बढी व्यक्तिमा कोरोनाको पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता डाक्टर जागेश्वर गौतमले राजधानी उपत्यकामा ४ सय १५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।
उनका अनुसार काठमाडौं जिल्लामा ३५० जना, ललितपुरमा ११ जना र भक्तपुरमा ५४ जना संक्रमित भेटिएका छन् । यो संख्या अहिले सम्मकै बढी हो।
यस अगाडी बिहिबार उपत्यकामा अहिले सम्मकै बढी कोरोना भाइरस संक्रमित फेला परेका थिए। बिहिबार उपत्यकामा ३७७ कोरोना संक्रमित फेला परेका थिए।
शुक्रबार देशभर कोरोनाका ९ सय २७ संक्रमित थपिएका छन्। प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यससँगै नेपालमा कोरोना संक्रमित संख्या ३६ हजार ४ सय ५६ पुगेको छ।
बिगत २४ घण्टामा १ सय ६९ जना कोरोनाबाट निको भएर घर फर्किएको गौतमले बताए। यससँगै कोरोनामुक्त हुनेको संख्या २० हजार २ सय ४२ पुगेको छ।
आज १० हजार २ सय २९ जनाको पिसिआर परीक्षण भएको गौतमले बताए छ। हालसम्म ६ लाख ५८ हजार १ सय १० जनाको पिसिआर गरिएको छ।