काठमाडौँ – उपचार नपाउँदा मोरङमा एक गर्भवतीको ज्यान गएको छ। सात वटा अस्पताल पुर्याउँदा पनि उपचार नपाएका कारण लडेर घाइते भएकी मोरङकी एक गर्भवती महिलाको ज्यान गएको हो।
ज्यान गुमाउनेमा कानेपोखरी गाउँपालिका-५ की २३ वर्षीया सविना थापा (दर्जी) रहेकी छन्। उपचार नपाएकै कारण उनको बिहीबार बिहान ज्यान गएको हो।
सविनाका श्रीमान भरत दर्जीका अनुसार उनी मंगलबार राति १० बजेतिर घर नजिकैको शौचालयमा लडेकी थिइन्। लडेपछि स्वास्थ्य थप गम्भीर बन्दै उनलाई बुधबार राति उपचारका लागि विराटनगर ल्याइएको थियो।
परिवारजनले उनलाई नोबेल, विराट शिक्षण, विराट नर्सिङ होम एवं विराटनगर, ग्रीनक्रस, कोशी, सुरक्षा लगायतका अस्पताल पुर्याए। तर, कुनै पनि अस्पतालले भर्ना लिन मानेन। बिरामी भएकी श्रीमतीलाई कोशी अस्पताल पुर्याउँदा भरतले नर्सहरुको दुर्व्यवहार पनि खेपे।
विराटनगरमा कतै उपचार नपाएपछि घाइते महिलालाई बिहीबार बिहान लगभग २:३० बजेतिर एम्बुलेन्समा राखेर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइयो। प्रतिष्ठानले आकस्मिक कक्षमा उपचार थाल्दै प्रसूति कक्षमा रेफर गर्यो। प्रसूति कक्षमा पुर्याएर उपचार थालेको केही बेरमा बिहान ३:३० बजेतिर सविनाको प्राण गयो।
सविनाका श्रीमान भरत दर्जी उपचारका लागि लागिएका अस्पतालले लिन नमान्दा सात महिनाकी गर्भवती श्रीमती गुमाउनु परेको गुनासो गर्छन्। लडेर घाइते भएकी श्रीमतीलाई कोरोनाको बहानामा उपचार गर्न नमान्नु अस्पतालको गम्भीर लापरबाही भएको उनको गुनासो छ।
“श्रीमतीको उपचार गर्न आग्रह गर्दै धेरै डाक्टरको खुट्टा समाएँ। हारगुहार गरेँ।”,उनी भन्छन्,”तर कसैले पनि वास्ता गरेनन्। कोरोनाको बहानामा स्वास्थ्य सम्बन्धी गम्भीर समस्या भएका बिरामीले अस्पतालमा उपचार नै नपाउने अवस्था आउनु दुर्भाग्य हो।”