आफ्नो छोराको शव अर्कैले दाहसंस्कार गरेपछि…

बाग्लुङ । जिल्लाको ढोरपाटन नगरपालिका–९ मा यही भदौ १७ गते आएको बाढीले ठूलोमात्रामा जनधनको क्षति पुर्याएको छ । रातको समयमा बाढी आउँदा सुतेका स्थानीयवासीसँगै ढोरपाटनका आधा दर्जन गाउँ बगरमा परिणत भए । बाढीमा हालसम्म १७ जनाको मृ-त्यु भइसकेको छ भने अझै २१ बेपत्ता छन् । हालसम्म फेला परेका श-वमध्ये १५ जनाको मात्र सनाखत भइसकेको छ । बाढी प्रभावित क्षेत्रमा १८ गते बिहानैदेखि खोज तथा उद्धारको काम हालसम्म भइरहेको छ तर बाढीको वितण्डा यतिसम्म देखियो कि मृतावस्थामा भेटिएका श-व क्षतविक्षत अवस्थामा भेटिए । फलस्वरुप परिवारले आफ्नै गुमाएका सन्तानको श-वसमेत जलाउन पाएनन् । अर्कैले जलाइदिए ।

जीवनभर आफ्नो सन्तानको माया नहुने बाबुआमा सायदै होलान् । आफूलाई बुढेसकालमा हेरविचार गरुन् भन्ने सोच्छन् र त्यो जिम्मेवारी पनि हुन्छ तर विधिको विडम्बना आफ्ना नौजवान छोरासहित परिवारका चार सदस्यसम्म बाढीको विपत्मा सदाका लागि गुमाएका छन् । यो त दुःखान्त पीडाको खबर थियो नै । यसमा अझ पीडा त बाढीमा बेपत्ता भएर ज्यान गुमाएका आफ्नो दिवङ्गत छोराको श-व अर्कैले जलाउँदा भएको छ । यो थाहा पाएपछि परिवारलाई कति पीडा भएको होला ? बेपत्ता भएको आफ्नो छोरालाई अर्कैले जलाउँदा बाबुआमाको मन कति दुखेको होला ? हामी त केवल अनुमान मात्रै गर्न सक्छौँ ।

ढोरपाटनको बाढीमा बेपत्ता भएका आफ्नो २२ वर्षीय छोरा नारायण विकको श-व घट्टबोटका बेपत्ता ३१ वर्षीय प्रेम पुनको श-व भन्दै प्रहरीले आफन्तको जिम्मा लगायो । आफन्तले पनि नारायणको श-व प्रेमको ठानेर १९ गते फेला परेर सोही दिन बुर्तिवाङघाटमा जलाइयो । प्रेमका आफन्तले अर्कैको श-व जलाएर आएको भोलिपल्ट बिहान पुनः उनको सग्लो श-व फेला पारेपछि २० गते फेरि पुनको श-व बुर्तिवाङघाटमै जलाइयो तर नारायणका परिवारले आफ्नो छोराको श-व भेटिँदासमेत दाहसंस्कार गर्न पाएनन् ।

भदौ १९ गते जलाइसकेको श-व आफ्नो छोरा भएको २० गते प्रेमकोे परिवारले दोस्रो दाहसंस्कार गरेपछि मात्रै आफूले थाहा पाएको नारायणका बुवा तुलबहादुर विकले बताए । ‘प्रहरीले मलाई थाहै नदिई मेरो छोराको श-व अर्कैको भनेर बुझाइसकेर दाहसंस्कार भइसकेको रहेछ’, तुलबहादुरले भने, ‘मेरो छोरालाई प्रेम पुनको श-व भनेर जलाएको भोलिपल्ट उनको श-व फेला पारेको रहेछ, मैले २० गते मात्रै १९ गते प्रेम पुन भनेर जलाएको श-व मेरो छोरा नारायणको भएको पत्ता लगाएँ, असाध्यै दुःख लाग्यो ।’

आफ्नो छोरा नारयण र प्रेमको शरीर र उमेर मिल्दोजुल्दो भएका कारण प्रहरीले झुक्किएर प्रेमको आफन्तलाई जिम्मा लगाएको उनको भनाइ छ । भदौ १९ गते फेला परेको श-व एकपटक हेर्न पाएको भए चिन्ने अवस्था रहे पनि आफूलाई खबर नै नगरेको उनले बताए । ‘कसैले दुईपटकसम्म दाहसंस्कार गर्न पर्यो, आफ्नो छोरालाई अर्कैले जलाएछन्, मैले दाहसंस्कारै गर्न पाइनँ ।’ नारायणलाई १९ गते नै जलाएको २० गते थाहा पाएपछि कपाल मुण्डन गरेको उनको भनाइ छ । तुलबहादुरका छोरा नारायणसहित बुहारी, नातिनी र छोरीलाई समेत बाढीले बगाएर बेपत्ता बनाएको छ । तीन जनाको अवस्था अझै अज्ञात रहँदा भेटिएको श-वसमेत देख्न नपाई जलाइएकामा उनको दुखेसो छ ।

इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी इन्चार्ज प्रकाशसिंह भण्डारीका अनुसार फेला परेको श-व क्षतविक्षत भएकाले पहिचनामा समस्या भएको बताए । ‘१९ गते फेला परेको श-व ३१ वर्षीय प्रेम पुनको भएको पुनका आफन्तले भनेपछि हामीले दाहसंस्कार गर्नका लागि बुझायौं’, भण्डारीले भने, ‘त्यसको भोलिपल्ट प्रेम पुनको सग्लो श-व फेला परेपछि बल्ल सनाखतमा समस्या भएको थाहा पाइयो ।’ प्रहरीका अनुसार सोमबार मात्रै नारयणका बुबा तुलबहादुरले ल्याएको तस्वीरका आधारमा १९ गते प्रेम पुन भनेर जलाइएको श-व नारायणको भएको सनाखत गरिएको छ । फेला पर्ने अधिकांश श-वको ढुङ्गाले थिचेको जस्तो हातखुट्टा चुँडिएका र अनुहार नचिनिने भएका कारण समस्या भएको प्रहरीको भनाइ छ ।

प्रकाशित : मङ्गलबार, भदौ २३, २०७७०३:०३

रुसले शुरु गर्यो कोरोना भ्याक्सिनको उत्पादन !