रुसले शुरु गर्यो कोरोना भ्याक्सिनको उत्पादन !

एजेन्सी – रुसमा विकास गरिएको कोरोना भाइरस विरुद्धको खोपको उत्पादन शुरु भएको छ । कोरोना भाइरस संक्रमण विरुद्ध तयार पारिएको खोपको पहिलो चरणको उत्पादन शुरु भएको हो।

रुसी स्वास्थ्य मन्त्रीले ‘स्पुतनिक भी’ नामको कोरोना भाइरसविरुद्धको भ्याक्सिनको पहिलो चरणको उत्पादन शुरु भएको बताएको रुसी संचार माध्यमहरुले जनाएका छन्।

गेमिलियाले विकास गरेको उक्त भ्याक्सिनको आवश्यक गुणस्तर परीक्षण भइसकेको र सर्वसाधारणमा प्रयोग गर्न पठाउने तयारी गरिएको रुसको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

रुसले कोरोना भाइरस संक्रमण विरुद्ध भ्याक्सिन बनाउने पहिलो देश भनेर दावी गरिरहेको छ। ‘स्पुतनिक भी’ नामक उक्त खोप त्यहाँको सरकारले अनुमोदन गरिसकेको छ भने त्यसको व्यापक परीक्षण तथा उत्पादनको लागि अनुमति पाइसकेको छ। उक्त खोप यहि महिनाबाट सर्वसाधारणलाई उपलब्ध गराउने रुसी सरकारको योजना छ।

‘स्पुतनिक भी’को अहिले विभिन्न देशहरुमा विस्तृत परीक्षण भैरहेको छ। साउदी अरब, युनाइटेड अरब इमरेट्स् (युएई), फिलिपिन्स, ब्राजिलमा लगायतका देशमा खोपको परीक्षण हुने निश्चित जस्तै भइसकेको छ। यस्तै उक्त खोपको भारतमा पनि परीक्षण हुने भएको छ।

रुसमा परीक्षण गरिएको खोपले काम गर्ने देखियो !

रुसी वैज्ञानिकहरूले कोरोनाभाइरस विरुद्धको खोपको परीक्षणबाट मानिसमा भाइरसविरुद्ध लड्ने प्रणालीको विकास भएको जनाएका छन्।

रुसमा विकास गरिएको कोभिड-१९ विरुद्धको खोपको पछिल्लो ७६ जनामा गरिएको परीक्षणबाट निकै सकारात्मक परिणाम देखापरेको रुसी अधिकारीहरुले बताएका हुन्।

रुसका वैज्ञानिकहरुले खोपको परीक्षणबारे पहिलो प्रतिवेदन प्रकाशित गरेका छन्। जसक्रममा उनीहरुले खोप परीक्षणमा सहभागी सबैमा भाइरसविरुद्ध लड्ने प्रतिरोधात्मक प्रणालीको विकास भएको र कुनै गम्भीर साइड इफेक्ट नभएको दावी गरेका छन्।

प्रकाशित : मङ्गलबार, भदौ २३, २०७७०३:३६

सोमबार घटबढ नभएको सुनको मूल्य आज घट्यो ! कति ?[मूल्य सहित]