काठमाडौँ – कोरोना कहरकै बीच हिमाल आरोहण गर्न बहराइनका राजकुमार सहितको टोलि नेपाल आइपुगेको छ। बुधबार बहराइनका राजपरिवारका सदस्यसहित १८ जनाको टोली हिमाल चढ्न विशेष विमानमा नेपाल आइपुगेको हो।
बहराइनबाट गए राति साढे १२ बजे शेख ईशा एयरबेसबाट उडेको विशेष विमान बिहान सवा ११ बजेतिर त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ। नेपाल आएको टोलिमा बहराइन Royal Guard (डिफेन्स फोर्स) मा कार्यरत १५ जना बहराइनी तथा ३ जना बेलायती नागरिक समेत रहेका छन्।
लगभग २ महिना समयावधिको कार्यक्रम सहित नेपाल आएको सो टोलीले लोबुचे र मनास्लु हिमाल आरोहणलाई पूर्वतयारीको रूपमा लिंदै सन् २०२१ मा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने अभिलाषा लिएको बहराइनस्थित नेपाली राजदूतावासले जनाएको छ।
सो टोलिलाई आरोहणका लागि नेपाल आउन दिने प्रस्ताव सम्बन्धमा मिति २०७७/०५/१४ मा नेपाल सरकार “मन्त्रिपरिषद्” को निर्णय भएको थियो। पर्वतारोहणमा सहभागीहुने सदस्यहरू तथा विमानको चालक दलका सदस्यहरू सबै जना पछिल्लो १५ दिनदेखि स्व: क्वारेन्टिनमा रहेका बताइएको छ।