बाबुराम-विप्लवलाई प्रचण्डको आग्रह – ‘हामी मिलौं, देश बन्छ’

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालिन माओवादीका सहकर्मी नेताहरुलाई नेकपामै जोडिन आग्रह गरेका छन्।

बिहिबार तत्कालीन माओवादी छाडेर हिँडेका प्रदेश २ का नेताहरुलाई नेकपामा स्वागत गर्न धुम्बाराहीमा आयोजना गरिएको कार्यक्रममा बोल्दै डा. बाबुराम भट्टराई, मोहन वैद्य किरण र नेत्रविक्रम चन्द विप्लवलाई नेकपामा जोडिन उनले आग्रह गरे।

विभाजित भएर काम गर्नु भन्दा एकीकृत भएर काम गर्दा प्रभावकारी हुने हुँदा तत्कालिन माओवादीका पूर्वसहकर्मीहरुलाई नेकपाको अभियानमा जोडिन उनको आग्रह छ। नेपालमा कम्युनिष्ट आन्दोलन विभाजन भएर नै दुख बढेको उनले बताए।

“कम्युनिष्टहरू एकै पार्टीमा बसेर बहस गर्ने गर्छन्। पार्टीमा छलफल संघर्ष रुपान्तर र नयाँपन चलिरहन्छ। चीनका नेताले भन्थे, तिमी बुर्जुवाहरु टुक्रा टुक्रा हुँदा पनि हामी कम्युनिष्ट एकै छौँ। कम्युनिष्ट विभाजन भएर दुःख पाएका हौँ।”,उनले भने।

कम्युनिष्ट विभाजित भएकै कारण नेपालमा कांग्रेसले सरकार चलाउन सकेको पनि उनले बताए। एकताकै नेकपाले जनताको विश्वास पाएको उनले स्पष्ट पारे। कम्युनिष्ट एकताको तागत आफूहरुले विश्‍वलाई देखाइसकेको उनको जिकिर छ।

“हामी विभाजित भएकैले समस्या भयो। कम्युनिष्ट फुटेकैले कांग्रेसले सरकार चलायो। सजिलै दुईतिहाइ आइहाल्छ भनेर सोच्नु मनोगत थियो, एकतामा त्यति ठूलो तागत हुने रहेछ। कम्युनिष्ट एकताको तागत हामीले विश्‍वलाई देखाइसकेका छौं।”,उनले भने,”अरु जनमत पनि हामीसँग जोडिन आएको छ। अब किरणजीले, बाबुरामले र विप्लवजीले पनि मूलधारातिरै फर्किनै पर्छ। यो नै जनतको हितमा हुन्छ। विवादहरु हामी सँगै बसेर मिलाउँला।”

प्रकाशित : बिहिबार, असोज १५, २०७७१०:३८

पछिल्लो २४ घण्टामा १९ सय भन्दा बढीमा कोरोना संक्रमण पुष्टि !