काठमाडौं । गत वर्षको फागुनबाट नेपालमा कोरोना संक्रमण सुरु भयो । हाल नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघिसकेको छ । संक्रमण बढ्दै जाँदा सरकारले कुनै पनि क्षेत्रमा काम गर्दा कसरी व्यवहार गर्ने भन्ने सन्दर्भमा प्रोटोकल तय गरेको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ।
तर, सरकारका प्रधानमन्त्री, विभिन्न पार्टीका नेतादेखि मन्त्री र सरकारी उच्च ओहोदामा रहेका भीआईपीहरू नै सरकारी प्रोटोकल मान्दैनन् अर्थात् हेलचेक्रयाइँ गर्छन् । उनीहरू मास्क नलगाई सार्वजनिक कार्यक्रममा सहभागी हुँदै आइरहेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयअघि पत्रकार ऋषि धमलासँगको टेलिभिजन अन्तर्वार्ताका क्रममा मास्क नै लगाएका थिएनन् । यस्तै, उनले २६ भदौमा सम्पन्न नेकपाको स्थायी समितिको बैठकमा समेत मास्क लगाएका छैनन् । प्रायः प्रधानमन्त्रीका भेटघाटका तस्बिरहरू बिनामास्कका देखिन्छन् । सत्तारूढ दलका अर्का अध्यक्ष पुष्पकमल दाहाल भने प्रायः मास्कमै पार्टीका कार्यक्रम तथा भेटघाटमा देखिन्छन् । उनले पार्टीका बैठक र भेटघाटका कार्यक्रममा मास्क लगाएको पाइन्छ ।
यसैगरी, कांग्रेस सभापति शेरबहादुर देउवासमेत विरलै मास्क प्रयोग गर्छन् । उनले बाहिर हिँड्दा मास्क प्रयोग गर्ने गरेको देखिए पनि कार्यक्रममा सहभागी हुँदा र नेताहरूसँगको भेटघाटमा मास्क प्रयोगमा बेवास्ता गरेको देखिन्छ । देउवाले राप्रपा परित्याग गरी कांग्रेस भित्रिएका सुनिल थापासँगको सामूहिक तस्बिर खिचाउँदा मास्क प्रयोगमा बेवास्ता गरिएको तस्बिर उनकै फेसबुक पेजमा छ ।
यस्तै, इनअफ इज इनअफका अनशनकारीलाई भेट्दा समेत देउवाले मास्क लगाएका थिएनन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पनि मास्क लगाउने तर हेलचेक््रयाइँ गर्नेमा पर्छन् । उनले १५ साउनमा पार्टी केन्द्रीय कार्यालयमा भएको पत्रकार सम्मेलनमा मास्क खोलेर टेबलमा राखेको तस्बिर उनकै फेसबुक पेजमा छ ।
यसैगरी, सरकारका उपप्रधानमन्त्री एवं कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारबाटै बनाइएको उच्चस्तरीय समिति सीसीएमसीका संयोजक ईश्वर पोखरेल समेत मास्क प्रयोगमा हेलचेक्रयाइँ गर्नेमा पर्छन् । उनले समेत भूषण दाहालसँगको एक टेलिभिजन कार्यक्रममा मास्क नलगाईकन १० भदौमा अन्तर्वार्ता दिएको भिडियो पोखरेलको फेसबुक पेजमा छ । उनी बाहिरी कार्यक्रममा भने मास्कमा नै देखिन्छन् ।

