काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षा छठलगत्तै लिने भएको छ । बोर्डको आइतबार साँझ बसेको बैठकले कार्यविधि पारित गर्दै मङ्सिर ९ गते देखि परीक्षा लिने निर्णय गरेको हो ।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले परीक्षा मङ्सिर ९ गतेदेखि कक्षा १२ को साधारण(संगीत, ललितकला र संस्कृत विषय समूह समेत) तथा प्राविधिक विषय समूह तर्फका नियमित परीक्षार्थीहरुको वार्षिक परिक्षा सञ्चालन गर्न लागिएको जनाएको छ।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले परीक्षाको तालिका समेत सार्वजनिक गरेको छ। कक्षा १२ को परीक्षा मंसिर ९ गते विहान ८ बजेदेखि शुरु हुने बोर्डले जनाएको छ।
बोर्डले कक्षा १२ को परीक्षा लिँदा कक्षा ११ को ४० प्रतिशत मूल्याङ्कन, १२ को ४० प्रतिशत र १२ बाट प्रयोगात्मक २० प्रतिशतको आधारमा परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । बोर्डले परीक्षार्थीलाई आफ्नै विद्यालय वा नजिकको विद्यालयमा पुगेर परीक्षा दिनसक्ने व्यवस्था गरेको छ ।
यस वर्षको परीक्षा १ देखि डेढ घण्टाको हुनेछ । बोर्डले ४० प्रतिशत अंकको आधारमा नयाँ प्रश्नपत्र तयार गर्नेछ । प्रश्नपत्र ढुवानी गर्न असम्भव भए इमेलमार्फत पठाउने तयारी गरेको छ ।