काठमाडौं, मंसिर १ गतेदेखि नेपाल प्रहरीमा नयाँ नियम लागू भएको छ । १ गतेदेखि सबै प्रहरीले अनिवार्य रुपमा नियमावलीअनुसारको घर बिदा पाउने भएका छन् ।
प्रहरी हवल्दार र जवानका समस्या समाधान गरी प्रहरी सेवाप्रति उत्प्रेरणा बढाउन प्रहरी प्रधान कार्यालयले नयाँ कार्यक्रमहरू ल्याएको हो । सर्वेक्षणका आधारमा समस्या पहिचान गरी त्यसको समाधान थालिएको छ ।
त्यसअन्र्तगत मंसिरदेखि सबै प्रहरीले नियमावलीअनुसार न्यूनतम ४२ दिन बिदा पाउने भएका हुन् । नियमअनुसार बिदा नदिने कार्यालय प्रमुख कारबाहीमा पर्ने भएका छन् । ‘३० दिन घर बिदा र १२ दिन भैपरी आउने बिदा अब सबै प्रहरीले पाउनेछन्,’ प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायत भन्छन्,‘मंसिर १ गतेदेखि यो सुरु भएको छ, प्रहरी प्रधान कार्यालयको नै सफ्टवेयरमार्फत त्यसको निगरानी हुन्छ ।’ प्रहरीको मानव स्रोत तथा प्रशासन विभागले यसका लागि छुट्ट्रै सफ्टवेयर बनाएको छ । जसबाट कुन प्रहरी कति दिन बिदामा बसे भनेर निगरानी गर्न सकिन्छ । ‘कुनै प्रहरी लामो समय बिदामा नबसेको पाइएमा सोधखोज हुन्छ,’ एसएसपी कडायतले भने ।
काम धेरै तथा जनशक्ति कम भएकाले हाल प्रहरीले नियमअनुसारको बिदा समेत पाउने गरेका छैनन् ।‘नेपाल प्रहरीमा कार्यरत प्रहरी हवल्दार तथाजवानहरूको मनोबलको वर्तमान अवस्था, कारक तत्व तथा उत्प्रेरणा अभिवृद्धिका क्षेत्रहरू सम्बन्धी अध्ययन’मा धेरै जवान तथा हवल्दारहरूले वर्षमा १५ दिनभन्दा कम बिदा पाएको गुनासो गरेका थिए । पर्याप्त बिदा नपाउँदा प्रहरी जागिरप्रति नैराश्यता बढेको उनीहरुको गुनासेपछि यसमा सुधार गर्न लागिएको छ ।
डिउटी अवधि घटाइने
अध्ययनको क्रममा प्रहरीले १८ घन्टासम्म डिउटी गर्नुपरेको गुनासो गरे । अध्ययनमा सहभागी ४ हजार पाँच सय ४८ जनामध्ये अधिकांशले दिनमा १२ घन्टा भन्दा धेरै काम गर्नुपरेको बताएका थिए । उनीहरुको डिउटीलाई कम गर्न फागुनदेखि प्रहरी प्रधान कार्यालयले नयाँ योजना लागू गर्ने तयारी छ । जसअनुसार बिशेष अवस्थामा बाहेक लामो डिउटीमा खटाउन पाइनेछैन ।
जनशक्तिको अभाव यसको प्रमुख कारण भएको एक प्रहरी अधिकारी बताउँछन् । जनशक्ति नै कम रहेको र दरबन्दी पनि रिक्त हुने भएकाले कार्यबोझ धेरै हुने गरेको छ । प्रहरी भर्ना गरेर डिउटीमा खटाउन करिब एक वर्ष तालिम गर्नुपर्ने र यो अवधिमा हजारौं पद रिक्त हुने गरेका छन् । यसका लागि एक वर्षमा अनिवार्य अवकाश पाउने प्रहरी बराबरको भर्ना प्रक्रिया अगाडी नै सुरु गर्नुपर्ने प्रस्ताव प्रहरी प्रधान कार्यालयको छ ।
–दृष्टिबाट