एजेन्सी – उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन तथा उनका परिवारलाई कोरोना भाइरस विरुद्धको खोप उपलब्ध गराइएको खुलासा भएको छ। हालसालै भएको एक खुलासाका अनुसार चीनले किम जोङ उन तथा उनका परिवारलाई कोरोना भाइरस विरुद्धको खोप उपलब्ध गराएको हो।
किम जोङ उन तथा उनका परिवारलाई कोरोना भाइरस विरुद्धको खोप उपलब्ध गराइएको बारे एक अमेरिकी विश्लेषकले खुलासा गरेका हुन्। यस्तो खुलासा गरिरहँदा उनले नखुलाइएका दुई जापानी इन्टेलिजेन्स स्रोतलाई उदृत गरेका छन्।
वाशिङटनको सेन्टर फर नेशनल इन्ट्रेस्ट थिंक ट्यांकका उत्तर कोरिया विज्ञ ह्यारी कजियानिसका अनुसार किम जोङ उन तथा उनका परिवार मात्र नभई उत्तर कोरियाका बरिष्ठ अधिकारीहरुलाई पनि उपलब्ध गराइएको छ। तर, कुन चिनियाँ कम्पनीले कोरोना भाइरस विरुद्धको खोप उपलब्ध गराएको भन्ने बारे पनि स्पष्ट हुन नसकेको उनको भनाई छ।
“किम जोंग उन र अन्य कैयौं उच्च पदस्थ अधिकारीहरुलाई विगत २ देखि ३ हप्ताभित्र कोरोनाभाइरसविरुद्ध भ्याक्सिन लगाइएको छ ।”, एक अनलाइन आउटलेटको लागि कजियासनसले लेखेको लेखमा भनिएको छ।
हाल चीनमा सिनोभ्याक बायोटेक, क्यान्सिनो बायो र सिनोफार्म ग्रुपसहित कम्तीमा तीन चिनियाँ कम्पनीहरुले कोरोनाभाइरस भ्याक्सिन विकास गरिरहेका छन्। जसमध्ये कुनै एकले उत्तर कोरियामा कोरोना भाइरस विरुद्धको खोप उपलब्ध गराएको हुन सक्ने अनुमान गरिएको छ।