एजेन्सी – कोरोना भाइरस संक्रमणको महामारीबाट विश्व प्रभावित भएको लगभग एक वर्ष पुगिसकेको छ। विगत कयौं महिना देखि विश्वभरमा नागरिक कोरोनाबाट ग्रसित छन्। यो समय सम्म आइपुग्दा विश्वभरका ६ करोड ४२ लाख भन्दा बढी व्यक्ति कोरोनाबाट संक्रमित भइसकेका छन्। जस मध्ये १४ लाख ८८ लाख भन्दा बढीले ज्यान गुमाइसकेका छन्।
कोरोना भाइरस महामारीका कारण विश्वभरका मानिसहरुको दैनिकी प्रभावित भएको छ। कोरोनाबाट बच्चा देखि वृद्ध सम्म संक्रमित छन्। तर, कोरोनाका कारण सबै भन्दा बढी गार्हो वृद्धहरुलाई भएको छ। विश्वका अधिकांश देशहरुमा कोरोनाबाट वृद्धहरुले ज्यान गुमाएका छन्।
यसो भन्दैमा कोरोना संक्रमण भए लगतै वृद्ध-वृद्धाहरुको ज्यान गइहाल्छ भन्ने होइन। कोरोना संक्रमणलाई १ सय वर्ष उमेर नाघिसकेका वृद्ध-वृद्धाले जितेको धेरै उदाहरण छन्। अहिले विश्वभर लाखौंको वृद्ध-वृद्धाहरु कोरोनासँग लडिरहेका छन्।
यस्तै कोरोनासँग लडिरहेका एक वृद्ध र उनको उपचारमा खटिएका एक डाक्टरको तस्विर भाइरल भएको छ। गेट्टी इमेजका लागि एक फोटोग्राफरले खिचेको तस्विर विश्वभर भाइरल भएको हो।
तस्विर ‘थ्याँक्स गिभिङ्ग डे’को रहेको बताइएको छ। अन्तराष्ट्रिय संचार माध्यम तथा सामाजिक संजालमा भाइरल भएको उक्त तस्विर ह्युस्टनको युनाइटेड मेमोरियल मेडिकल सेन्टरको रहेको छ।
तस्विरमा देखिएका डाक्टर जोसेफ वरुन हुन्। उक्त अस्पतालको आइसीयुमा उपचाररत एक वृद्ध रुँदै गर्दा जोसेफले अँगालो हालेर वृद्धलाई सहज गराउने प्रयास गरेका थिए। जुन दृश्य गेट्टी इमेजका एक फोटोग्राफरले आफ्नो क्यामरामा कैद गरेका थिए।
“उहाँ(वृद्ध) बेडबाट उठेर बाहिर निस्कने प्रयासमा हुनुहुन्थ्यो। साथै उहाँ रोइरहनु पनि भएको थियो।”,जोसेफ भन्छन्,”म उहाँको नजिक गएँ र उहाँलाई अँगालो हालेर केहि सान्त्वना दिने प्रयास गरे।
त्यसक्रममा वृद्धले श्रीमतीलाई भेट्न जिद्दी गरेको र त्यसले आफूलाई दुखि बनाएको जोसेफले बताए। जोसेफका अनुसार ती वृद्ध कोरोना संक्रमित हुन् भने पछिल्लो समय उनको स्वास्थ्यमा सुधार भइरहेको छ।
केहि कोरोना संक्रमितहरुको लामो समय सम्म उपचार गर्नुपर्ने जोसेफको भनाई छ। त्यसमध्ये केहि अस्पताल बस्दा-बस्दा दिक्क हुने गरेको उनले सुनाए। केहि संक्रमितहरु अस्पतालको बसाईले दिक्क भएर भाग्ने प्रयास समेत गर्ने गरेको उनी बताउँछन्।