एजेन्सी – विश्व फुटबलको सर्वोच्च संस्था फिफाले वर्षको उत्कृष्टलाई प्रदान गर्दै आएको द बेस्ट अवार्डको शीर्ष तीन उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।

यो वर्ष पुरुष खेलाडीको अवार्डका लागि लिओनेल मेस्सी, क्रिस्टियानो रोनाल्डो र रोबर्ट लेवान्डोस्की मनोनयनमा परेका छन् । अर्जेन्टिनी कप्तान मेस्सीले बार्सिलोनाका लागि कुनै उपाधि नजितेपनि उनको व्यक्तिगत प्रदर्शन भने तारिफयोग्य थियो ।
यस्तै पोर्चुगिज फरवार्ड रोनाल्डोले युभेन्टसलाई इटालियन लिगको उपाधि दिलाउँदा उनी लिगको मोस्ट भ्यालुएबल प्लेयर घोषित भएका थिए । पोलिस फरवार्ड लेवान्डोस्कीले भने बायर्नका लागि निकै सफल वर्ष बिताए । उनकै गोलको आधारमा बायर्नले खेलेका सबै प्रतियोगिता जितेको थियो भने लेवान्डोस्की सर्वाधिक गोलकर्ता समेत भएका थिए ।

महिलातर्फ खेलाडीमा इंग्ल्यान्डकी लुसी ब्रोन्ज, डेनमार्ककी पेर्निल हार्डर र फ्रान्सकी वेन्डी रेनार्ड शीर्ष तीनमा परेका छन् ।

महिलातर्फ प्रशिक्षकमा चेल्सीकी एम्मा हेअस, लियोनका जेन भासेर र नेदरल्यान्डकी सारिना विग्मन मनोनयनमा छन् ।

महिला गोलरक्षकका लागि लियोनकी सरह बौहादी, पिएसजीकी क्रिस्टियन एण्डलर र अमेरिकी अलिसा नेहर छन् ।

पुरुषतर्फ प्रशिक्षकमा लिड्स युनाइटेडका मार्सेलो बिएल्सा, बायर्नका हान्स फ्लिक र लिभरपुलका योर्गेन क्लोप रहेका छन् ।

गोलरक्षकको उपाधिका लागि लिभरपुलका एलिसन बेकर, एटलेटिको म्याड्रिडका जान ओब्लाक र बायर्नका कप्तान म्यानुएल नोएर छन् ।

फिफाले उत्कृष्ट गोलका लागि प्रदान गर्ने पुस्कास अवार्डका लागि टोटेनहमका सन ह्युङ मिन, हाल एटलेटिको म्याड्रिडमा खेलिरहेका लुइस सुआरेज र फ्लामेंगोका जर्जिआन्दे अरस्केता मनोनयनमा रहेका छन् ।

फिफाले डिसेम्बर १७ मा विजेताको नाम घोषणा गर्नेछ ।

