पेलेको रेकर्ड माथि मेस्सीको हमला: कोम्यानले भने – ‘मेस्सी त्यतिकै विश्वकै उत्कृष्ट भएका होइनन्’

एजेन्सी – बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले लियोनेल मेस्सी विश्वकै उत्कृष्ट खेलाडी रहेको र वर्तमान अवस्थामा विश्वकै एक नम्बर रहेको दावी गरेका छन्।

लालिगा अन्तर्गतको खेलमा शिर्षस्थानमा रहेको रियल सोसिडाडसँग बार्सिलोनाले खेल्नु अगाडी पत्रकार सम्मेलनमा बोल्दै कोम्यानले मेस्सी अहिलेको अवस्थामा पनि विश्वकै उत्कृष्ट खेलाडी रहेको टिप्पणी गरेका हुन्।

मेस्सी फुटबल लेजेण्ड पेलेको एक रेकर्ड नजिक रहेको विषयमा प्रश्न गर्दा कोम्यानले मेस्सी जस्तो खेलाडी निकट भविष्यमा सायदै देख्न पाइएला भन्दै टिप्पणी गरे।

एकै क्लबबाट सर्वाधिक गोल गरेको रेकर्ड हाल पेलेको नाममा छ। पेलेले ब्राजिलियन क्लब सन्तोसबाट खेल्दा ६ सय ४३ गोल गर्दै रेकर्ड बनाएका थिए। मेस्सी पेलेको रेकर्ड भन्दा एक गोलले मात्रै पछाडी छन्। मेस्सीले हाल सम्म बार्सिलोनाको लागि ७ सय ४६ खेल खेल्दै ६ सय ४२ गोल गरेका छन्।

रियल सोसिडाड विरुद्धको खेलमा मेस्सीले एक मात्र गोल गरेको खण्डमा उक्त रेकर्डमा पेलेसँग बराबरी हुनेछ भने एक भन्दा बढी गोल गरेको खण्डमा रेकर्ड तोडिने छ।

मेस्सीले बार्सिलोनाबाट खेल्दै हाँसिल गरेको सफलतालाई बार्सिलोना प्रशिक्षक कोम्यान असामान्य मान्छन्। मेस्सी जस्तो खेलाडी निकट भविष्यमा बिरलै देख्न पाइने उनको भनाई छ।

“मेस्सी जत्तिको खेलाडी भविष्यमा सायदै हामीले देख्न पाइएला। मेस्सीले हामीलाई धेरै नै खुशी दिएका छन्।”,कोम्यानले भने,”उनले अहिले सम्म धेरै सफलता हाँसिल गरेका छन् र त उनी विश्वका उत्कृष्ट खेलाडी हुन्, त्यसैले उनी पहिलो स्थानमा छन्। उनी हाम्रो लागि धेरै महत्वपूर्ण छन्।

स्पेनिस ला लिगामा आज राति बार्सिलोना र रियल सोसिडाड बीच खेल हुँदै छ। खेल बार्सिलोनाको घरेलु मैदानमा हुनेछ। अहिले रियल सोसिडाड लालिगाको शिर्षस्थानमा छ भने १३ खेलबाट २६ अंक बटुलिसकेको छ। सोसिडाडको बार्सिलोनासँग ९ अंकको अग्रता छ।

प्रकाशित : बुधबार, पुष ०१, २०७७१६:१५

तथ्यांक अनुसार रोनाल्डो २०२० को टप १० खेलाडीमा पनि परेनन्, मेस्सी नम्बर १