शनिबार भ्यालेन्सिया विरुद्धको खेलमा गरेको गोलसँगै मेस्सीले एकै क्लबका लागि सबैभन्दा धेरै गोल गर्ने पेलेको रेकर्डको बराबरी गरेका छन्। लगभग आधा शताब्दी कायम रहेको आफ्नो रेकर्ड बाबरी गरेपछि ब्राजिलियन लेजेण्ड पेलेले बार्सिलोनाका कप्तान लियोनल मेस्सीलाई बधाई समेत दिएका छन्। पेलेले आफ्नो इन्स्टाग्राम मार्फत एक पोस्ट गर्दै मेस्सीको तारिफ गरेका हुन्।
पेलेले ब्राजिलियन क्लब सान्तोसको लागि ६४३ गोल गरेका छन्। भ्यालेन्सिया विरुद्धको हिजोको मेस्सीको गोल पनि बार्सिलोनाका लागि उनको ६४३ औं गोल थियो। मेस्सीको उक्त गोल बार्सिलोनाको जितको लागि पर्याप्त नभएपनि मेस्सीको लागि भने उक्त गोल अविस्मरणीय रह्यो।
मेस्सीलाई बधाई दिँदै पेलेले इन्स्टाग्राममा लेखे,”यदि तपाईंको मनमा धेरेई प्रेम छ भने आफ्नो मार्ग परिवर्तन गर्न गाह्रो हुन्छ। तपाईलाई जस्तै मलाई पनि थाहा छ कि आफूले माया गरेको क्लबको जर्सी दैनिक लगाउन मन लाग्छ। तपाईलाई जस्तै मलाई थाहा छ कि आफ्नो घरभन्दा राम्रो स्थान कतै पनि हुँदैन।”
पेलेले थप लेखे,”तिम्रो यो ऐतिहासिक रेकर्डका लागि बधाई छ लियोनल। तर सबैभन्दा महत्त्वपूर्ण, बार्सिलोनामा तिम्रो सुन्दर क्यारियरको लागि बधाई।” लियोनल मेस्सीलाई ट्याग गर्दै उनी लेख्छन्,”यति लामो समयसम्म एउटै क्लबलाई माया गर्ने हाम्रो जस्तो कथा दुर्भाग्यवश फुटबलमा विरलै छन्। म तिम्रो धेरै प्रशंसा गर्छु।”
भ्यालेन्सियासँग बराबर खेल्दै अंक बाँढेपछि बार्सिलोना १३ खेलबाट २१ अंकका साथ पाँचौं स्थानमा छ। शिर्ष स्थानमा रहेको एथ्लेटिको म्याड्रिडको १२ खेलबाट २९ अंक छ।