गण्डकी प्रदेशका मुख्यमन्त्री स्वीकृति पाए बेलायत जाने, खर्च पनि आफैं बेहोर्ने !

चिप्लेढुङ्गा – गण्डकी प्रदेश सरकारले मुख्यमन्त्रीको बेलायत भ्रमण स्वीकृतिका लागि सङ्घ सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले मन्त्रिपरिषद्का निर्णय आज सार्वजनिक गर्दै आगामी भदौ ६ र ७ गते तमुधि युकेको आयोजनामा हुने नेपाली मेलामा प्रमुख अतिथि बन्न मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई निम्तो आएको जानकारी दिनुभयो । प्रदेश सरकारलाई आर्थिक भार नपर्ने गरी मुख्यमन्त्री बेलायत जान लाग्नुभएको हो ।

बैठकले प्रदेश विकास प्राधिकरण विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ । सशर्त अनुदान र समपूरक अनुदान कार्यविधि परिमार्जन गर्दै प्रदेशले यसअघि ७० प्रतिशत अनुदान दिँदै आएकामा यसलाई घटाएर समपूरक अनुदान ६० प्रतिशत बनाउने र ४० प्रतिशत स्थानीय तहले व्यहोर्नुपर्ने व्यवस्था गरेको भौतिक पूर्वाधार विकासमन्त्री बस्नेतले जानकारी दिनुभयो ।

यस्तै केही प्लाष्टिकजन्य पदार्थ नियन्त्रण गर्ने विधेयक निर्माणका लागि सैद्धान्तिक स्वीकृित दिने, गण्डकी प्रदेशमा ग्रामीण गरीबी न्यूनीकरण गर्न समिति गठन गर्ने र समितिको संयोजकमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रहने तथा समिति १५ सदस्यीय रहने निर्णय गरिएको छ । बैठकले भूमि व्यवस्था मन्त्रालयले तयार गरेको सहकारी नियमावली पनि स्वीकृत गरेको छ ।

प्रकाशित : आइतबार, साउन १९, २०७६१३:४८

चट्याङ, अग्नि र सर्पको भयबाट बच्न नागपूजा : यसरी शुरु भएको थियो