एजेन्सी – पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार खेलाडी नेयमारले आफू पीएसजीमै रहने स्पष्ट पारेका छन्। एक टेलिभिजनलाई अन्तर्वार्ता दिनेक्रममा नेयमारले आफू पीएसजीमा सन्तुष्ट रहेको उल्लेख गर्दै पीएसजीमै रहने योजना रहेको स्पष्ट पारेका हुन्।
फ्रेन्च टेलिभिजन टिएकवानलाई अन्तर्वार्ता दिँदै नेयमारले पहिला भन्दा धेरै कुराहरु परिवर्तन भएको र आफू अहिले सन्तुष्ट रहेको बताए। पहिला भन्दा अहिले आफू धेरै खुशी रहेको उनको भनाई छ।
“म आज खुशी छु। म वास्तवमै खुशी छु”,उनले भने,”परिस्थिति धेरै फेरिएको छ। म किन भनेर ठ्याक्कै व्याख्या गर्न त सक्दिन। तर, आज मलाई राम्रो लागिरहेको छ। म पहिले भन्दा धेरै शान्त र खुशी भएको छु।”
यस्तै नेयमारले पीएसजीकै अर्का स्टार खेलाडी किलियन एम्बाप्पे पनि पीएसजीमै रहुन् भन्ने चाहना व्यक्त गरेका छन्। एम्बाप्पे पीएसजीमै रहुन् र पीएसजी अझ बलियो टिम बनोस् भन्ने उनको चाहना छ।
“किलियन पनि यहिँ रहुन् भन्ने म चाहन्छु। पीएसजी बलियो बनोस् भन्ने हाम्रो चाहना हो।”,उनले भने,”म फुटबल खेल्न चाहन्छु र सँगै खुशी हुन पनि। यो नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो।”
एम्बाप्पे बारे बोल्दै नेयमारले थप भने,”किलियनसँग दाजु-भाइ जस्तै सम्बन्ध छ। हामी वास्तवमै सँगै खेल्न चाहन्छौं।”
नेयमारले उक्त अन्तवार्तामा एम्बाप्पेको खुलेरै प्रशंसा पनि गरेका छन्। एम्बाप्पेको भविष्य धेरै नै उज्ज्वल रहेको उनको भनाई छ। नेयमारले एम्बाप्पेलाई ‘गोल्डेन बोइ’ भन्ने गरेको बारे पनि उक्त अन्तर्वार्तामा स्पष्ट पारे। खेल मैदानमा मात्र नभई एम्बाप्पे मैदान माहिर पनि धेरै राम्रो रहेको नेयमारले बताए।