सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा दर्ता हुने अधिकांश उजुरी स्थानीय तहबाट परेका छन् । कार्यालयका अनुसार चालू आर्थिक वर्षको पछिल्लो ६ महीनामा दर्ता भएका कुल ८९७ उजुरीमध्ये ४६५ ओटा उजुरी स्थानीय तहका छन् । तीमध्ये स्थानीय तहका शिक्षासँग सम्बन्धित ११३ ओटा उजुरी दर्ता भएका छन् । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ।
हाल स्थानीय तहका ९८ ओटा उजुरी फर्छ्योट भएको आयोग सुर्खेत कार्यालयले बताएको छ । प्रदेशमा दैलेखबाट सबैभन्दा बढी ७७, सुर्खेतबाट ६२, कालिकोटबाट ५०, जाजरकोटबाट ४४, मुगु र जुम्लाबाट २७÷२७, सल्यानबाट २०, डोल्पा र रुकुम पश्चिमबाट १७÷१७ र हुम्लाबाट २४ ओटा उजुरी दर्ता भएका छन् । आयोगको सुर्खेत कार्यालय प्रमुख नारायणप्रसाद रिसालले कार्यालयमा दर्ता भएका ८९७ उजुरीमध्ये १९६ उजुरी फछ्र्योट भएको जानकारी दिउ । ‘७०९ उजुरी फछ्र्योट हुन बाँकी छन् । फछ्र्योट भएका उजुरीमध्ये चारओटाको आरोपपत्र दायर भएको छ,’ उनले भने, ‘आरोपपत्र दायर भएका उजुरीमा आठजना प्रतिवादीउपर १६ लाख ८८ हजार ४६७ रुपैयाँ बिगो दाबी गरिएको छ ।’
सुर्खेतस्थित कार्यालयमा संघीय सरकारविरुद्व दर्ता भएका २०७ उजुरीमध्ये ४५ फछ्र्योट भइसकेका छन् भने १६२ उजुरी बाँकी छन् । यस्तै, प्रदेश सरकारविरुद्ध दर्ता भएका २२७ उजुरीमध्ये ५३ ओटा फछ्र्योट भइसकेका छन् भने १७४ ओटा बाँकी छन् । कार्यालयका अनुसार सुर्खेत कार्यालयले पछिल्लो ६ महीनामा एउटा मात्र ‘स्टिङ अप्रेशन’ गरेको छ ।

