जीतमा मात्र हैन हारमा पनि मेस्सीलाई टक्कर दिँदै रोनाल्डो, बार्सा हारेको २४ घण्टामा युभेन्टस पनि हार्यो !

लियोनल मेस्सीको कप्तानीमा रहेको बार्सिलोना फ्रेन्च च्याम्पियन पीएसजीसँग हारेको २४ घण्टा भित्र क्रिस्टियानो रोनाल्डोको युभेन्टस पनि पोर्चुगिज क्लब पोर्टोसँग २-१ गोल अन्तरले पराजित भएको छ। पूरै युभेन्टस टोलीकै फितलो देखिएको खेलमा रोनाल्डोले पनि आफ्नो उत्कृष्ट खेल देखाउन सकेनन्।

आफ्नो होम ग्राउन्डमा भएको खेलको दोस्रो मिनेटमा नै पोर्टोका लागि मेहेदी टारेमोले गोलको खाता खोलेका थिए। मौसा मारेगाले खेलको ४६ औं मिनेटमा पोर्चुगिज क्लबको अग्रता दोब्बर पारे। पूरै खेलमा आफ्नो स्तर अनुसार प्रदर्शन गर्न नसकेको युभेन्टसले खेलको अन्तिम केहि समय पनि सुधारिएको खेल खेल्दै महत्वपूर्ण आवे गोल गर्न सफल भयो। इटालियन महारथीको लागि खेलको ८२ औं मिनेटमा फेडेरिको सिसेले गोल गरे।

अब यी दुई बीचको दोस्रो लेगको खेल मार्च १० मा युभेन्टसको होम ग्राउन्डमा हुनेछ। अघिल्लो चरणमा प्रवेश गर्नको लागि युभेन्टसका लागि १-० को जित पनि पर्याप्त हुनेछ।

त्यस्तै, गयराती नै भएको अर्को खेलमा नर्वेजियन युवा फरवार्ड एर्लिङ ब्राउट हालान्डको दुई गोल तथा अर्काे गोलको लागि असिस्ट दिएपछि जर्मन क्लब बोरुसिया डर्टमुन्डले युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगको खेलमा स्पेनिस क्लब सेभियालाई ३–२ ले पराजित गरेको छ।

प्रकाशित : बिहिबार, फागुन ०६, २०७७११:४९

पोर्टो विरुद्द प्रयास गरेको हाँसो लाग्दो ड्रिबलले बताउँछ रोनाल्डोको प्रदर्शन, हेर्नुहोस् [भिडियो सहित]