निर्वाचन आयोगले गोपाल किराँती नेतृत्वको नेकपा माओवादी केन्द्र र सन्ध्या तिवारी नेतृत्वको नेकपा एमालेको नाम फेर्न प्रस्ताव गरेको छ।
आयोगको मंगलबार बसेको बैठकले विज्ञप्ति जारी गर्दै नेकपा माओवादी केन्द्रलाई अर्को नयाँ नाम र चिन्ह तथा नेपाल कम्युनिष्ट पार्टी एकीकृत मार्क्सवादी-लेनिनवादीले नयाँ नाम प्रस्ताव गरी १५ दिनभित्र सुधारसहितको विवरण पेश गर्नु पर्ने बताएको छ।
सर्वोच्च अदालतको गत आइतबार फैसला अनुसार केपी शर्मा ओलीको अध्यक्षतामा रहेको नेकपा एमाले र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा रहेको नेकपा माओवादी केन्द्र २०७५ जेठ २३ गते अघिकै अवस्थामा कायम हुने भएको कारणले आयोगले त्यो मिति भन्दा पछि दर्ता भएका एउटै नाम गरेको दुबै दललाई नाम परिवर्तनका लागि प्रस्ताव गरेको हो।
२०७५ जेठ २३ गतेबाट तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच एकता भएर भइ नेपाल कम्युनिष्ट पार्टी गठन भएपछि किराँतीले नेकपा माओवादी केन्द्र र तिवारीले नेकपा एमाले नाम लिएर दल दर्ता गराएका थिए।

