लियोनल मेस्सी विश्व फुटबलको सबैभन्दा ठूलो नाम मध्ये एक हो। आधुनिक समयमा लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो भन्दा ठूलो नाम नै छैन फुटबल जगतमा। विगत एक दशकभन्दा बढी समय देखि नै यो प्रश्न चल्दै आएको छ कि यी दुई खेलाडी मध्ये को उत्कृष्ट ?

सबैको फरक फरक मत हुनसक्छ र त्यसको कारण पनि विभिन्न हुनसक्छ। तर सत्य यो हो कि यी दुई खेलाडी आधुनिक समयका सर्वोत्कृष्ट खेलाडी हुन् र फुटबल इतिहासकै सर्वोत्कृष्ट खेलाडी मध्येमा पर्छन्।

यी दुई बीच को उत्कृष्ट भन्ने विवादमा सधै एउटा कुरा मेस्सीको विपक्षमा जान्छ त्यो हो दबाबको समय वा महत्वपूर्ण खेलमा राम्रो खेल्न नसक्ने वा दबाबमा आउने। त्यो कुरा फेरी पनि पुष्टि भयो जब गयराती पीएसजी विरुद्धको खेलमा मेस्सीले पहिलो नाफको अन्तिम समयमा पाएको पेनाल्टीमा गोल गर्न सकेनन्।

२०१६ को कोपा अमेरिका फाइनलमा गरेको पेनाल्टी मिस, २०१८ रोमा, २०१९ लिभरपुल, २०२० बार्यन र २०२१ मा पीएसजी। यी सबै खेलमा मेस्सीले आफ्नो स्तर अनुसार प्रदर्शन गर्न सकेनन्। यी सबै मेस्सीका जीवनका निकै महत्वपूर्ण खेल मध्येमा पर्छन्।

सबैभन्दा महत्वपूर्ण खेल २०१४ विश्वकप फाइनलमा पनि मेस्सीले सोचे अनुरुप खेल देखाउन सकेनन् जुन् स्वयम् मेस्सीले पनि स्वीकार गरेका छन्। बारम्बार महत्वपूर्ण खेलमा राम्रो प्रदर्शन गर्न नसक्ने र दबाबमा आउनु मेस्सीको मनस्थितिलाई पनि जनाउँछ, जो सायद ठूला खेलमा दबाब महसुस गर्छन्।

तर यसले मेस्सी एक उत्कृष्ट खेलाडी हुन् भन्नेमा कुनै शंका भने गर्न मिल्दैन। सायद मेस्सी जस्तो खेलाडी फुटबल जगतले भविष्यमा सायदै पाउनेछ।
