एजेन्सी – अर्जेन्टिनी स्टार खेलाडी लियोनेल मेस्सी यस सिजनको अन्त्य पश्चात कहाँ जालान् भन्ने कुरामा सबैको ध्यान छ। पछिल्लो समय उनी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) जाने चर्चा चलिरहेको छ। यधपी, जोआन लापोर्टाले दोस्रो पटक बार्सिलोनाको अध्यक्षमा निर्वाचित भएसँगै मेस्सी बार्सिलोनामै रहने सम्भावना पनि बढेर गएको छ।
स्पेनी रेडियोको नयाँ रिपोर्ट अनुसार मेस्सी बार्सिलोनामै रहने ५० प्रतिशत सम्भावना छ भने उनी पीएसजी पनि जान सक्छन्। तर बार्सिलोना र पीएसजी जुन सुकै क्लबमा रहेपनि दुई वर्ष पछि भने मेस्सी इन्टर मियामी जाने स्पेनी रेडियोको दावी छ।
मेस्सीले दुई वर्ष पछि इन्टर मियामी जाने मनस्थित बनाइसकेको स्पेनी रेडियोले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ। स्पेनी रेडियोले गरेको दावीलाई मान्ने हो भने मेस्सीले दुई सिजन युरोपमा बिताएपश्चात जुनै पनि हालतमा इन्टर मियामी जाने विचार गरिसकेका छन्।
मेस्सीका पिता समेत रहेका एजेन्ट जर्ज मेस्सीले आफ्ना छोरा दुई वर्ष पछि जुनै पनि हालतमा इन्टर मियामी जाने बताउने गरेको स्पेनी रेडियोको दावी छ। केहि समय अगाडी डेभिड बेकहामले पनि भविष्यमा मेस्सी र रोनाल्डोलाई इन्टर मियामीमा देख्न सकिने बताएका थिए।
“हामीसँग पहिले नै गोन्जालो हिगुइन र ब्लेज मटुइडी जस्ता खेलाडीहरू छन् जसले क्लबलाई उत्कृष्ट बनाउन मद्दत गर्नेछन् तर हामी अगाडि अझै केही ठूला नामहरू पनि ल्याउने प्रयास गर्नेछौं।”,उनले भनेका थिए,”अवश्य पनि हामी सधैं राम्रो खेलाडी ल्याउन चाहन्छौं। मायामी सबैका लागि एक उत्कृष्ट ठाउँ हो र ती प्रकारका खेलाडीहरू [मेस्सी र रोनाल्डो] लाई हामी यहाँ ल्याउन चाहन्छौं।”