काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टारद्वय सन्दीप लामिछाने र सोमपाल कामी हाल क्यानाडामा जारि ग्लोबल टि-२० प्रतियोगितामा खेलिरहेका छन् ।
सन्दीप टोरन्टो नेसनल्स र सोमपाल विनिपेग हक्सबाट खेलिरहेका छन् । दुवै टोलीको प्लेअफ पुग्ने सम्भावना हालसम्म टुंगो लागेको छैन । यद्यपि दुवै टोली अथवा दुई मध्य एक भने प्लेअफ पुग्ने पक्का भइसकेको छ । गएराती हुने भनिएको हक्स र भान्कुभर नाइट्सको खेल वर्षाको कारण रद्द भएसँगै दुवै टोलीले १-१ अंक बाँडे । हक्सको प्लेअफ सम्भावना यस नतिजाले लगभग पक्का बनेको छ ।
नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टोरन्टो नेसनल्स र मोन्टरियल टाइगर्सबीच आज राती हुने खेलमा जित-हार नतिजा आए हक्स प्लेअफमा पुग्नेछ । उक्त खेल वर्षाले रोकिएमा भने सोमपाल सम्मिलित हक्स बाहिरिनेछ र टोरन्टो र मोन्टरियल अर्को चरणमा पुग्नेछन् । सन्दीपको टोलीले जित दर्ता गरेहक्स र नेसनल्सले प्लेअफ चरण अन्तर्गत एलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछन् ।
हक्स ६ खेलमा २ मा जित र ३ मा हारका सहित ५ अंक जोड्दै तेस्रो स्थानमा छ । त्यस्तै नाइट्स ६ खेलमा ३ जित, १ हार र २ अनिर्णित सहित ८ अंक जोड्दै दोस्रो स्थानमा छ । मोन्टरियलको ५ अंक र टोरन्टोको ४ अंक रहेको छ । शीर्षस्थानको ब्राम्प्टनको ९ अंक छ भने पुछारको एडमन्टनले ३ अंक जोडेको छ ।
सोमपालले एडमन्टन रोयल्सविरुद्ध डेब्यू गर्दै खराब प्रर्दशन गरेका थिए । उक्त खेलमा सोमपालले ब्याटिङतर्फ ५ बलको सामना गर्दै १ रन मात्रै बनाउन सके । बलिङतर्फ पनि २ ओभरमा ३३ खर्चदै खर्चेका थिए । सन्दीपले भने पहिलो खेलमा महँगो सावित हुँदै ४४ रन खर्चेर १ विकेट लिएपनि दोस्रो खेलमा भने २८ रन दिँदै १ विकेट लिएका थिए ।
प्रतियोगिताको लिग तालिकाको शीर्ष २ टोलीले क्वालिफायर तथा तेस्रो र चौथोले एलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछन् । एलिमिनेटरको विजेता र क्वालिफायरको पराजित टोलीले उपाधिका लागि क्वालिफायरको विजेता टोलीसँग फाइनल खेल्नेछ ।