२०१८ को समर ट्रान्सफर विन्डोमा पोर्चुगिज दिग्गज क्रिस्टियानो रोनाल्डोले सारा संसारलाई हैरानमा पार्दिए जब उनी रियल म्याड्रिडमा लगातार ३ च्याम्पियन्स लिग जिते लगत्तै इटालियन च्याम्पियन युभेन्टससँग अनुबन्ध भए।

रोनाल्डोले २००९ मा रियलमा आएपछि स्पेनिस महारथीको लागि ४३८ खेल खेल्दै अविश्वसनीय ४५० गोल गरे। उनको स्थान लिन त कसैलाई सम्भव नै थिएन तर म्याड्रिड क्लबले रोनाल्डो युभेन्टस प्रस्थान गरेपछि उनको कमी पूरा गर्न चेल्सीका स्टार खेलाडी एडेन हाजार्डलाई २०१९ मा अनुबन्ध गर्यो।

२०१२ मा फ्रेन्च क्लब लिलबाट चेल्सी आएका हाजार्ड त्यसपछि विश्वकै उत्कृष्ट खेलाडी मध्ये एकमा परिणत भए। उनले चेल्सीको जर्सीमा २४५ खेलमा ९० गोल गर्दै ब्लु डेभिललाई २ प्रिमियर लिग, २ युरोपा लिग उपाधि जिताउन प्रमुख भूमिका खेले। उनले चेल्सीमा हुँदा पीएफए वर्ष खेलाडी अवार्ड समेत जित्न सफल भए।

चेल्सीमा स्टार बनेका हाजार्डले रियल म्याड्रिडमा रोनाल्डोको स्थान लिने र सुपरस्टारको रूपमा विकसित हुने धेरैको अनुमान थियो। उनी आफ्नो करियरको शिखरमा थिए जब रियल म्याड्रिडले उनलाई २०१९ मा १०० मिलियन तिरेर अनुबन्ध गरेको थियो। तर सबैको अपेक्षा विपरित रियलमा उनको खेलजीवन चोटले ग्रस्त रह्यो।

उनले रियलमा अहिलेसम्म २ सिजनमा जम्मा ३६ खेल खेल्दा ५० खेल गुमाइसकेका छन्। उनी यस अवधिमा कुल ११ चोटको शिकार भएका थिए। संयोगबस उनको रियल म्याड्रिडको जर्सीमा ११ गोलमा मात्र संलग्नता रहेको छ। उनले रियलका लागि ४ गोल गरेका छन् भने ७ असिस्ट प्रदान गरेका छन्। यस्तोमा तथ्यांक अनुसार हाजार्ड रियलमा ११ गोलमा संलग्न हुँदा कुल ११ पटक चोटबाट ग्रसित पनि भइसकेका छन्।

