एजेन्सी -बार्सिलोनाका नवनिर्वाचित अध्यक्ष जोआन लापोर्टाले लियोनेल मेस्सीलाई बार्सिलोनामै बस्ने वातावरण बनाउने प्रतिवद्धता दोहोर्याएका छन्।

बार्सिलोना अध्यक्षका लागि निर्वाचन हुनु अगाडी नै मेस्सीलाई बार्सिलोनामा अड्याउन हर-सम्भव प्रयास गर्ने बताएका लापोर्टाले बार्सिलोना अध्यक्षको कार्यभार ग्रहण गर्नेक्रममा उक्त प्रतिवद्धता दोहोर्याएका हुन्।

कार्यभार ग्रहण पश्चात पत्रकारहरुसँग कुराकानी गर्दै लापोर्टाले मेस्सीलाई बार्सिलोनामा अड्याउन आफ्नो ठाउँबाट सक्ने हरेक कदम चाल्न तयार रहेको बताए।

“म तिमिलाई कति स्नेह गर्छु भन्ने कुरा तिमिलाई पनि थाहा छ। र तिमिलाई यहाँ राख्नको लागि हामी गर्नुपर्ने सबै गर्नेछौँ। लियो तिमिलाई थाहा छ, तिमि क्लब छाड्न सक्दैनौ।”,मेस्सीलाई सन्देश दिँदै भनेका छन्।
मेस्सीसँग आजीवन सम्झौता

अहिले कोरोना महामारीका कारण आम्दानी घटेका कारण मेस्सीको पारिश्रमिक घटाउने र पछि आजीवन सम्झौता गरेर सो पक्षको सम्बोधन गर्ने योजनामा लापोर्टा रहेको बताइन्छ।

स्पेनबाट प्रकाशित हुने एक पत्रिकाका अनुसार लापोर्टाले मेस्सी र बार्सिलोना बीच आजीवन सम्झौता होस् भन्ने चाहेका छन्। सो अनुरुप नै उनले कदमहरु चाल्ने उक्त पत्रिकाको दावी छ।
मेस्सी बार्सिलोनामा सन्तुष्ट

सिजनको शुरुवातमा मेस्सी जति असन्तुष्ट थिए, अहिले त्यति असन्तुष्ट देखिँदैनन्। आफूले चाहेकै व्यक्ति बार्सिलोनाको अध्यक्ष हुनु र क्लबका युवा खेलाडीहरुको राम्रो प्रदर्शनले मेस्सीलाई सन्तुष्ट बनाएको बताउन थालिएको छ।

पछिल्लो समय बार्सिलोना लालिगामा राम्रो प्रदर्शन गरिरहेको छ। सिजनको शुरुवातमा लगातार हारेपनि बार्सिलोना १७ खेलमा अपराजित भएको छैन। यस बीचमा मेस्सीको पनि सुधारिएको प्रदर्शन देख्न मिलेको छ।

