इटालियन च्याम्पियन युभेन्टसले स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो बेच्ने तयारी गरेको र उनको मूल्य २९ मिलियन डलर तोकेको बताइएको छ। २०१८ मा रोनाल्डो रियल म्याड्रिडबाट १०० मिलियनमा इटाली प्रस्थान गरेका थिए।

५ पटकका ब्यालुन डी ओर विजेता रोनाल्डोले इटालियन महारथीको लागि कुल १२१ खेल खेलेका छन्, जसमा उनले ९२ गोल गरिसकेका छन्। युभेसँग उनले २ वटा सरी-ए उपाधि पनि जितेका छन्। तर उनको आगमनपछि क्लबले च्याम्पियन्स लिगमा भने राम्रो प्रदर्शन गर्न सकेको छैन।

च्याम्पियन्स लिग जित्ने लक्ष्यका साथ रोनाल्डोलाई अनुबन्ध गरेको युभे रोनाल्डो क्लबसँग अनुबन्ध भएदेखि प्रतियोगिताको सेमी-फाइनलसम्म पनि पुग्न सकेको छैन। २०१८ मा आज्याक्ससँग क्वाटर फाइनलमा पराजित भएको युभे त्यसपछि लगातार दुई सिजनमा क्रमश: लियोन र पोर्टोसँग हार्दै अन्तिम १६ बाटै बाहिरियो।

गत केहि हप्तामा च्याम्पियन्स लिगको हारकका कारण निकै आलोचना भइरहेको रोनाल्डो र क्लब बीच खेलाडीको भविष्य बारे चर्चा गर्न क्लबले रोनाल्डोसँग कुरा गर्ने तयारी गरेको बुझिन्छ। यस्तोमा कोरीएरी डेलो स्पोर्ट अनुसार सेरी ए च्याम्पियन्सले आर्थिक क्षति हुन नदिन रोनाल्डोबाट कम्तीमा पनि २४ मिलियन डलर पुनःपूर्ति गर्ने विचार गरिरहेको छ।

रोनाल्डोको युभेसँगको सम्झौता २०२२ को समरबाट अन्त्य हुनेछ। तर उनले यसै सिजनको अन्त्यमा इटाली छाड्ने धेरैले अनुमान गरिरहेका छन्। रोनाल्डोका एजेन्ट जोर्जे मेन्डेस र रियल म्याड्रिड बीच रोनाल्डोको म्याड्रिडमा पुनारागनको बारेमा लगातार कुरा पनि भइरहेको बताइन्छ।

