काठमाडौँ – ललितपुर जिल्ला प्रशासनले होलीका दिन अनावश्यक भिड-भाड हुन नदिने निर्णय गरेको छ। पछिल्लो समय बढ्दै गएको कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै ललितपुर प्रशासनले कडी-कडाउ गर्ने निर्णय गरेको हो।
कोरोनाको दोस्रो लहर हुने अनुमान गरिएका बेला बुधबार ललितपुर जिल्ला कोभिड १९ विपत् नियन्त्रण सेन्टरको बैठक बसेको छ। ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौलाको अध्यक्षतामा बसक उक्त बैठकले होलीमा भिडभाड हुन नदिने र स्वास्थ्य मापदण्ड पालना गराउने निर्णय गरेको बताइएको छ।
बुधबार बसेको बैठकले मास्क, स्यानिटाइजर र सामाजिक दुरीको मापदण्डलाई पालना गराउने मात्रै नभई मास्क नलगाउनेलाई संक्रामक रोग ऐन २०२० अन्तर्गत कारवाही गर्ने निर्णय समेत गरेको छ।
त्यस्तै बैठकले व्यवसाय संचालन गर्दा स्वास्थ्य मापदण्डहरु अनिवार्य पालना गराउन लगाउन र रात्रिकालिन व्यवसायहरु राति ११ बजेसम्ममात्रै संचालन गर्न दिने निर्णय पनि गरेको छ।
बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दै अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिनुका साथै पहिला संचालनमा रहेका क्वारेन्टाइन र आइसोलेसन सेन्टरहरुलाई समेत तयारी राख्ने निर्णय पनि बुधबारको बैठकले गरेको छ।

