जसपाको ग्रिनसिग्नल, ओली झनै शक्तिशाली !

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी र सरकार दुवैमा झनै शक्तिशाली हुँदै गएका छन्। ओली नेतृत्वको सरकार टिकाउन एमाले र जनता समाजवादी पार्टीबीच सहकार्यको सम्भावना बढेको छ भने अर्कोतर्फ पार्टीभित्र विधान संशोधन गरेर सबै अधिकार आफूमा केन्द्रित गर्न ओली सफल भएका छन्। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।

एमाले र जनता समाजवादी पार्टीबीचको वार्ता सकारात्मक बनेपछि गृहमन्त्री रामबहादुर थापाले कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका जसपा सांसद रेशम चौधरीको रिहाइका लागि वार्ता समिति बनाउने बताएका छन्। हालै एमालेमा प्रवेश गरेका गृहमन्त्री थापाको यो अभिव्यक्तिले जसपासँगको वार्ता सकारात्मक भएको संकेत गरेको छ। ओली नेतृत्वको सरकारले विश्वासको मत लिएमा र जसपाले समर्थन गरेमा एक वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन पाइँदैन।

ओलीले फागुन २८ गते माधव नेपाललगायतका नेतालाई नबोलाई केन्द्रीय कमिटीको बैठक राखेर जिम्मेवारी खोस्ने, विधान संशोधनको प्रस्ताव अघि सार्ने तथा केन्द्रीय सदस्य थप गर्ने निर्णय गराएका थिए। त्यसपछिका दुईवटा बैठकले विधान संशोधन, नेपाललगायतका चार नेतालाई स्पष्टीकरण सोध्ने तथा संसदीय दलको विधान संशोधन गरेर समानुपातिक सांसदलाई हटाउने अधिकार अध्यक्षलाई दिने निर्णय गरेका थिए।

नेपाल समूहले समानन्तर कमिटी गठन गरी ओली समूहलाई चुनौती दिने र अन्तरसंघर्ष गर्ने नीति लिइरहेका बेला ओलीले बालुवाटारमा केन्द्रीय कमिटीको बैठक राखेर आफूअनुकूल निर्णय गराएका थिए। उनी यति बेला नेपाललगायतका नेताहरूलाई पार्टीबाटै निष्कासन गर्ने तयारीमा छन्। ‘माओवादी र कांग्रेसले अविश्वासको प्रस्ताव ल्याउन आनाकानी गरेका बेला सरकारमा जसपासमेत सहभागी भएमा ओली सबैभन्दा बलियो नेता बन्नेछन्’, एमालेका एक स्थायी कमिटी सदस्यले भने।

प्रकाशित : शुक्रबार, चैत १३, २०७७०९:५२

जसपामा खटपट, प्रधानमन्त्रीमा तीन नेता आकांक्षी !