को बन्ला त यो वर्षको युरो कपको टप स्कोरर: यी हुन् १० प्रमुख दाबेदार !

आउँदो जुन ११ बाट कोरोना महामारीको कारण रद्द भएको युरो कप २०२० सुर हुँदैछ। २०२० मा हुने भनिएको प्रतियोगिता गत वर्ष विश्वव्यापी कोरोना महामारीको कारण रद्द भएको थियो।

युरो २०२० मा के हुन सक्छ भन्ने सम्बन्धमा कुनै पनि विस्तृत निष्कर्ष निकाल्न अहिले नै निकै छिटो हुनसक्छ, तर प्रतियोगितामा को टप गोल स्कोरर हुनसक्छन् भन्ने कुराको अनुमान भने गर्न सकिन्छ। यस्तोमा, हामी युरो कप २०२० का टप १० गोल्डेन बुटका दाबेदारको सूची तयार पारेका छौं। हेर्नुहोस् यो सूची…..

१०. टिमो वेर्नर 

जर्मनीका लागि २७ खेलमा १३ गोल गरिसकेका वेर्नर यो पटकको युरो कपमा गोल्डेन बुट जित्ने दाउमा हुनेछन्। यस भन्दा पहिला पनि अन्तराष्ट्रिय स्तरमा गोल्डेन बुट जितिसकेका टिमोले चेल्सीका लागि भने अपेक्षा अनुसार प्रदर्शन गर्न सकेका छैनन्। उनले २०१७ को कन्फेडेरशन कपमा गोल्डेन बुट जितेका थिए।

९. ज्लाटान इब्राहिमोभिक 

के फुटबल जगत अन्तिम पटक ज्लाटानको लागि तयार छ ? ३९ वर्षीय मिलान फरवार्डले हालै मात्र सन्यासबाट फर्किने घोषणा गरेका थिए। झन्डै ५ वर्षपछि विश्वकप छनौट खेलमा जर्जिया र कोसोभो विरुद्धको खेलमा देखा परेका इब्रा युरोको लागि पूरा तयार छन्।

८. रोबर्ट लेवान्डोस्की 

विश्व फुटबलमा वर्तमान समयमा रोबर्ट लेवान्डोस्की जस्तो स्ट्राइकर कुनै पनि छैन, तर उनको टोलीको क्वालिटीको कारण उनी यो सूचीमा यो भन्दा माथि अटाउन सकेनन्। पोल्याण्डको पूरा भाग्य नै लेवान्डोस्कीको हातमा रहनेछ। यदि आफ्नो देशलाई नक-आउट चरणसम्म पुर्याउन चाहन्छन् भने उनले क्लबको फर्म युरो कपमा पनि देखाउन जरूरी छ।

७. सेर्जे गेनाब्री 

जर्मनीका लागि १९ खेलमा १५ गोल गरिसकेका गेनाब्री पनि प्रतियोगिताको गोल्डेन बुटको प्रमुख दाबेदारी पेश गर्नेछन्। २५ वर्षीय बार्यन स्टारको यो पहिलो अन्तराष्ट्रिय प्रतियोगिता हुनेछ। क्लब स्तरमा आफ्नो राम्रो छाप छाड्न सफल सर्जे अन्तराष्ट्रिय स्तरमा पनि आफ्नो नाम बनाउन चाहन्छन्।

६. एन्टोइन ग्रिज्मन 

युरो २०१६ मा गोल्डेन बुट विजेता यो संस्करणमा पनि जित्दै ब्याक-टु-ब्याक गोल्डेन बुट जित्ने दाउमा हुनेछन्। बार्सिलोनाका लागि २०२०/२१ मा ४० खेलमा १४ गोल मात्र गर्न सफल भएपनि फ्रान्स राष्ट्रिय टोलीका लागि उत्कृष्ट प्रदर्शन गर्दै आएका ग्रिज्मन पनि यस व्यक्तिगत अवार्डका लागि प्रमुख दाबेदार रहनेछन्।

५. ब्रुनो फर्नान्डेज 

पाँच वर्ष अघि कप जितेको पोर्चुगल यस वर्ष आफूले जितेको कप रक्षा गर्ने दाउमा रहनेछ। २०१६ को तुलनामा बलियो टोलीका साथ प्रतियोगितामा उत्रिने पोर्चुगलका लागि म्यानचेस्टर युनाइटेड स्टार ब्रुनो फर्नान्डेज निकै महत्वपूर्ण खेलाडी रहनेछन्। म्यानचेस्टर क्लबका लागि उत्कृष्ट प्रदर्शन गर्दै आएको ब्रुनो यस प्रतियोगितामा पनि उत्कृष्ट रहने विश्वास गर्न सकिन्छ।

४. रोमेलु लुकाकु 

रसिया, फिनल्याण्ड र डेनमार्कका साथमा ग्रुप एफमा रहेको बेल्जियमले तुलनात्मक रूपमा सजियो विपक्षी पाएको छ। यस्तोमा पछिल्ला केहि वर्षमा उत्कृष्ट लयमा रहेका लुकाकुलाई गोल्डेन बुटको दाबेदार नमान्ने कुनै पनि कारण छैन।

३. क्रिस्टियानो रोनाल्डो 

पोर्चुगलका लागि १०३ गोल गरिसकेका रोनाल्डो आफ्नो उत्कृष्ट अन्तराष्ट्रिय करियरमा अझै गोल थप्न चाहन्छन्। सम्भवत अन्तिम युरो कप खेल्ने रोनाल्डोले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नेमा कुनै शंका छैन। खासगरी आफ्नो वरिपरी, ब्रुनो फर्नान्डेज, बर्नाडो सिल्भा, जोआओ क्यन्सेलो जस्ता क्वालिटी खेलाडी रहेको कारण पनि उनलाई गोल्डेन बुटको प्रमुख दाबेदार मान्न सकिन्छ।

२. ह्यारी केन 

२०१८ विश्वकप गोल्डेन बुट विजेता ह्यारी केन एक अर्को गोल्डेन बुट आफनो नाममा गर्न चाहन्छन्। जेडन सान्चो, रहिम स्टरलिंग, ज्याक ग्रिलिस, फिल फोडेन जस्ता वोर्ल्ड क्लास आक्रमक खेलाडीसँग खेल्ने केनले प्रतियोगितामा प्रशस्त गोल गर्ने पक्का नै छ। उनले गोल्डेन बुट जित्ने सम्भावना इंग्ल्याण्ड प्रतियोगितामा कहाँ सम्म पुग्छ भन्नेमा भर पर्नेछ।

१. किलियन एम्बाप्पे 

२०१८ मा फ्रेन्च फुटबलर अफ द इयर फ्रान्सका लागि यो प्रतियोगितामा मुख्य खेलाडी हुनेछन्। छिटो उमेरमा नै धेरै सफलता हाँसिल गरेका एम्बाप्पे आफ्नो ट्रफी क्याबिनेटमा एक अर्को अन्तराष्ट्रिय उपाधि थप्न चाहन्छन्। साथै उनको नजर गोल्डेन बुटमा पनि रहनेछ।

प्रकाशित : आइतबार, चैत २२, २०७७११:३८

नेइमार बार्सिलोना आउने चर्चा, मेस्सी बार्सिलोनामै बस्ने बुझाइ !