पेरिस सेन्ट जर्मेन (पीएसजी) क स्टार फरवार्ड नेइमार फेरी बार्सिलोना फर्कने चर्चा सुरु भएको छ। २०१९ देखि चल्दै आएको यो चर्चा पछिल्लो केहि समयको लागि सेलाएको भएपनि अब फेरी नेइमार बार्सिलोना फर्कन चाहेको कुरा बाहिर आएको हो।
गत केहि समयमा भने उनले क्लबसँग नयाँ सम्झौतामा हस्ताक्षर गर्ने बताइएको थियो। उनले बार्सिलोनाका कप्तान लियोनल मेस्सीले क्लब नछाड्ने र क्याटालान क्लबमै रहने सम्भावना बढेपछि पीएसजीसँग नयाँ सम्झौता हस्तक्षर नगर्ने बुझिएको छ।
२९ वर्षीय ब्राजिलियन फरवार्डले पूर्व टिममेट मेस्सीसँग एकसाथ खेल्ने इच्छा रहेको बताउने गरेका छन्। गत सिजन बार्सिलोना छाड्ने चाहेका मेस्सी पीएसजीसँग अनुबन्ध हुन सक्ने बताइएको थियो। तर स्पेनिस पत्रिका एराका अनुसार अब नेइमारले मेस्सी बार्सिलोनामै बस्ने बुझिसकेका छन् र उनले बार्सिलोना बोर्डलाई समेत आफू बार्सिलोना फर्कन चाहेको बताइसकेका छन्।
यसअघि पनि बार्सिलोनाका पूर्व स्काउट आन्द्रे करीले नेइमार र मेस्सी एकैसाथ खेल्नेछन् तर त्यो पीएसजीमा नभएर बार्सिलोनामा हुने बताएका थिए। नेइमारलाई अनुबन्ध गर्न आर्थिक संकटका कारण बार्सिलोनालाई निकै कठिन हुनेछ तर नेइमारले बार्सा आउन आफ्नो पारिश्रमिक समेत कम गर्न तयार रहेको बुझिएको छ।
बार्सिलोना बोर्डले पनि नेइमार फिर्ता ल्याउने विषयलाई इन्कार गरेका छैनन् तर बार्सिलोनाले बोरुसिया डार्टमन्डका स्ट्राइकर एर्लिंग हालान्ड र इन्टर फरवार्ड लौटारो मार्टिनेज माथि पनि नजर राखिरहेका छन्।