एजेन्सी – गए राति जर्मन बुन्डेस लिगा अन्तर्गतको खेलमा बोरुसिया डर्टमण्ड फ्रान्कफर्टसँग पराजित भयो। ११ मिनेटमा निको शल्जले गरेको आत्मघाती गोल हारको मूख्य कारक बन्न पुग्यो। ४४ मिनेटमा डर्टमण्डका म्याट हुमेल्सले बराबरी गोल गरेपनि फ्रान्कफर्टका आन्द्रे सिल्भाले ८७ मिनेटमा निर्णायक गोल गरे।

यसरी फ्रान्कफर्टसँग पराजित भएसँगै डर्टमण्ड च्याम्पियन्स लिगका लागि क्वालिफाइ हुने सम्भावना कम भएको छ। डर्टमण्ड हाल ४३ अंक सहित जर्मन बुन्डेस लिगाको पाँचौ स्थानमा छ। त्यस्तै फ्रान्कफर्ट भने ५० अंक सहित चौंथो स्थानमा छन्।

च्याम्पियन्स लिगका लागि क्वालिफाइ हुन डर्टमण्डले शनिबार रातिको खेल जित्नै पर्ने थियो। तर, उक्त खेल हारेसँगै डर्टमण्ड च्याम्पियन्स लिगका लागि क्वालिफाइ नहुने सम्भावना बढी देखिएको छ।

यससँगै हाल सर्वाधिक चर्चामा रहेका युवा खेलाडी अर्लिङ ब्राउट हालाण्डको बहिर्गमनको सम्भावना पनि बढेको छ। डर्टमण्ड च्याम्पियन्स लिगका लागि क्वालिफाइ नभएको खण्डमा हालाण्डले डर्टमण्ड छाड्ने धेरैको विश्लेषण छ।

एक खबरका अनुसार हालाण्डका पिता तथा एजेन्ट अल्फ-इन्जेले हालाण्डलाई कुन क्लबमा ल्याण्ड गराउन सकिन्छ भन्ने बारेमा गहन अध्ययन र छलफल गरिरहेका छन्। उनी अहिले बार्सिलोना र रियल म्याड्रिड दुवै क्लबसँग निरन्तर सम्पर्कमा छन्।

केहि समय अगाडी डर्टमण्डले हालाण्डको रिलिज कलज १५० मिलियन युरो तोकेको खबर आएको थियो। डर्टमण्डले हालाण्डलाई क्लबमै अड्याउन त्यत्रो रिलिज कलज तोकेको धेरैको बुझाई छ। तर च्याम्पियन्स लिगका लागि क्वालिफाइ नभएको खण्डमा भने हालाण्डलाई डर्टमण्डमै अड्याउन सहज हुने छैन।

