हिजो ऐतिहासिक विन्दुमा पुगेको नेप्सेमा आज सामान्य गिरावट !

काठमाडौं । लगातार सात दिनसम्म बढेको सेयर बजारमा आज बुधबार भने सामान्य गिरावट आएको छ । मंगलबार २६७४.४७ अंकको ऐतिहासिक उचाइमा बन्द भएको नेप्से बुधबार २.८५ अंकले घटेर २६७१.६२ अंकमा बन्द भएको नेपाल स्टक एक्सचेञ्जले जानकारी दिएको छ।

प्रि–ओपन सेसनमा नै २० अंकमाथिले वृद्धि भएर २६९४.५४ अंकमा खुलेको नेप्से ‘इन्ट्रा–डे’ कारोबारमा ऐतिहासिक २७०० अंकको विन्दुनजिक पुगेको थियो। नेप्से परिसूचकमा गिरावट आउँदा कारोबार पनि ओरालो लागेको छ।

मंगलबार करिब साढे ७ अर्बको कारोबार भएकोमा आज नेप्सेमा १ करोड ६५ लाख ९३ हजार ५०१ कित्ता सेयर ७ अर्ब २६ करोड ६९ लाख ७३ हजार बराबरको खरिद बिक्री भए।

होटल र पर्यटन ६.०५, लघुवित्त २.१६, विकास बैंक १.५ र बैंकिङ ०.२९ प्रतिशतले उकालो लाग्दा व्यापार उपसूचक सर्वाधिक ३.९४ प्रतिशतले करेक्सन हुँदा, हाइड्रोपावर १.२४, निर्जीवन बिमा १.४५, उत्पादन १.४  र लगानी १.६६ प्रतिशतले घटेको छ।  कारोवारका आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २७ करोड ६३ लाख २५ हजार बराबरको कारोबार भयो।

त्यस्तै, चिलिमे हाइड्रोपावरको २२ करोड १५ लाख ३५ हजार, छिमेक लघुवित्तको १९ करोड ४३ लाख ६२ हजार, वोमी लघुवित्तको १८ करोड १७ लाख २३ हजार र नेपाल दूरसञ्चार कम्पनीको १५ करोड ८० लाख ३२ हजारको कारोबार भएको छ ।

प्रकाशित : बुधबार, चैत २५, २०७७१६:३७

लगातार बढ्दै सुनको मूल्य, आज ४२ दिन यताकै महँगो !