एक रिपोर्टका अनुसार बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टा क्लब कप्तान मेस्सीलाई नयाँ सम्झौता प्रस्ताव गर्नु भन्दा पहिले एर्लिंग हालाण्डलाई अनुबन्ध गर्न चाहन्छन्। बार्सिलोनाको प्रमुख टार्गेट रहेका नर्वे अन्तराष्ट्रिय २० वर्षीय डर्टमण्ड स्टार अहिले युरोपका मस्ट वान्टेड स्ट्राइकर हुन् जसको कारण बार्सिलोनालाई उनलाई क्लबमा भ्त्र्याउन सजिलो भने हुने छैन।
मार्चमा मात्र क्लबका नयाँ अध्यक्षमा निर्वाचित भएका लापोर्टा कुनै पनि हालतमा हालाण्ड अनुबन्ध गर्न चाहन्छन्। यस्तोमा, ओके डाएरियोका अनुसार लापोर्टा मेस्सीको सम्झौता लम्ब्याउनु भन्दा पनि पहिला हालाण्डलाई साइन गर्न चाहन्छन्।
बार्सिलोनाका कप्तानको भविष्य बार्सिलोनामा अझै पनि अनिश्चित रहेको छ। म्यानचेस्टर सिटी र पिएसजी मेस्सीलाई अनुबन्ध गर्न तयार रहेको बताइएको छ। गत सिजन नै बार्सिलोना छाड्ने निर्णय गरेका मेस्सीले क्लबका आफ्नो भविष्यको बारेमा सिजनको अन्त्यमा मात्र निर्णय गर्ने बताएका छन्।
तर लापोर्टाले मेस्सीलाई क्लबमा राख्नको लागि आफूले जे पनि गर्न तयार रहेको पनि बताइसकेका छन्। तर अहिलेको लागि भने उनी हालाण्डमा बढी केन्द्रित भएको बुझिएको छ। मेस्सीलाई क्लबमा राख्न मनाउनको लागि पनि यो निकै बोल्ड मुभ हुनसक्छ।
हालाण्डको मार्केट भ्यालु १५० मिलियनको हाराहारीमा रहेको छ। यस्तोमा, आर्थिक संकटमा रहेको बार्सिलोनाले उनलाई अनुबन्ध गर्नको लागि आफ्ना केहि पहिलो रोजाइका खेलाडीबाट छुटकारा पाउनु पर्ने हुन्छ। जसको लागि बार्सिलोना फिलिपे कौटिन्हो, मार्टिन ब्र्याथवेट, जुनियर फिर्पो जस्ता खेलाडीलाई आउँदो समर ट्रान्सफर विन्डोमा बिक्री गर्ने योजनामा रहेको छ।