एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पीएसजी)का प्रशिक्षक मौरिसियो पोचेटिनोले च्याम्पियन्स लिग सेमिफाइनल अन्तर्गतको दोस्रो लेगमा म्यानचेस्टर सिटि विरुद्धको खेलमा किलियन एम्बाप्पे उपलब्ध हुन सक्ने आशा व्यक्त गरेका छन्।
शनिबार लेन्स विरुद्धको खेलमा उपलब्ध नभएका एम्बाप्पे सिटि विरुद्धको खेलमा उपलब्ध हुन सक्ने सम्भावना रहेको पोचेटिनोले एक अन्तर्वार्ताका क्रममा बताएका हुन्। सिटि विरुद्धको खेल अगाडी आफूहरुले उनको अवस्था बारे एकिन गर्न सक्ने उनले बताए।
उनले भने,”एम्बाप्पे सिटि विरुद्ध उपलब्ध हुन्छन् भन्ने कुरामा आशावादी छु। हामीलाई लाग्छ उनी उपलब्ध हुनेछन्। तर, आउने समयमा थप कुरा थाहा हुनेछ। त्यस विषयमा खेल अगाडी पूर्ण जानकारी आउनेछ।”
सिटि विरुद्धको खेल आफूहरुले जित्ने कुरामा आफूहरु सकारात्मक रहेको पनि उनले बताए। उनका अनुसार कुनै गोल नखाने र दुई भन्दा बढी गोल फर्काउने योजनामा पीएसजी रहनेछ।
“राम्रो फुटबल खेल्नु भन्दा पनि जित्नु महत्वपूर्ण हुन्छ। सिटि विरुद्ध खेल्दा जित्ने गरी रणनीति निर्माणमा हामी छौँ।”,उनले भने,”कुनै गोल नखाएर कम्तीमा दुई गोल फर्काउने हाम्रो रणनीति हुनेछ।”
शनिबार राति पीएसजीले लेन्स विरुद्ध खेल्दा एम्बाप्पे टिममा परेका थिएनन्। दाहिने खुट्टामा समस्या देखिएपछि शनिबार उनलाई टिम बाहिर राखिएको हो। एम्बाप्पेको दाहिने पिडुलामा समस्या देखिएको बताइएको छ। उनको खुट्टामा कति बेला समस्या आएको भन्ने बारे एकिन भइनसकेको पोचेटिनोले बताए।